विद्युतीय सवारीसाधनमा लगाईएको कर तत्काल हटाउ

Sharing is caring!

असार ८, २०७७ । नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले लगाएको कर हटाउन सरोकारवालाहरुले माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित “वर्तमान नेपालमा विद्युतीय सवारीसाधनको महत्व” विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । तर, सरोकारवाला सङ्घ तथा संस्थाले उक्त व्यवस्था खारेज गरी त्यस्ता साधनको प्रवद्र्धन गर्न माग गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुल्े सरकार विद्युतीय साधनलाई निरुत्साहित गर्ने, यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको गुनासो पोखेका छन् ।
उनीहरुले स्वदेशमा उत्पादन हुने र रातको समयमा खेर जाने बिजुली खपत गरेर आत्मनिर्भरताको दिशातिर लैजान बल दिन विद्युतीय साधनमाथि कर थुपार्नु कुनै पनि हिसाबले वैज्ञानिक र तर्कसङ्गत नभएको जिकिर गरेका छन् ।

नेपालको कूल निर्यातको दुई दशमलव दुई गुणा रकम पेट्रोल डिजेल आयातमा मात्र खर्च गर्नु परेको परिस्थितिमा, पेट्रोल डिजेलकै प्रयोगलाई प्रोत्साहित गर्न र नेपालमा उत्पादित बिजुलीको प्रयोग निरुत्साहित गर्न बजेट प्रेरित भएको अधिकांश वक्ताहरुको भनाई छ उनीहरुले तत्काल विद्युतीय सवारीसाधनमा लगाइएका करहरु हटाई स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक अधिकारको सम्मान गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

विद्युतीय सवारीको आयातमा १० प्रतिशत रहेको भन्सार अबदेखि ४० प्रतिशत भएको छ भने थप ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत मूल्यअभिवृद्धि कर र पाँच प्रतिशत सडक दस्तुर लगाइएको छ ।

कार्यक्रममा बोल्दै नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युतीयमय भैरहेको अवस्थामा नेपाल भने यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गरेका छन् । सरकारको उक्त कदम गलत भएको उनको भनाई छ ।
त्यस्तै, विद्युत प्राधिकरणका ईन्जिनियर सागर ज्ञवालीले विद्युतीय गाडीको लागि ल्याएको चार्जिङ स्टेशनहरु बनाईएको सुनाउँदै अहिले विद्युत खेर गैरहेको जनाए । उनले भने,‘करोडौंको विद्युत दैनिक रुपमा खेर गैरहेको छ । विद्युतीय गाडी र ईन्डक्सन निरुत्साहित पार्ने कदम भयो। यसलाई सच्याउनुपर्छ ।’

स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाई लगानी विद्युत खासगरी हाईड्रोमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौं नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले जनताको पानीमा भएको लगानी पूर्ण धरायशी हुने अवस्था भएको सुनाए ।

सामाजिक अभियन्ता लोकेश वली (विजुली दाई) ले विजुली गाडीले गर्दा देश समृद्ध हुनेथियो भन्ने धारणा राखेका थिए । तर, सरकारले विद्युतीय सवारीसाधनमा अंकुश लगाउने निर्णय गरेकोले यसले जनताको स्वास्थ्यमा समेत खेलबाड भएको उनको टिप्पणी छ । उनले पेट्रोलबाट कर असुल्नेतर्फ राज्यको ध्यान गएको गुनासो पोखे ।

नेपाल न्यू ईनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनताले सस्तोमा गाडी चढ्न पाउने अवसर भएकोमा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताए । नेपालमा छिमेकी राष्ट्रबाट आयात भैरहेका युरो ३ गाडीहरु भारतबाट भित्रिएका छन् र नेपाल पूर्ण रुपमा डम्पिंग साईट बनाइएको पनि उनले चित्रण गरे ।

वार्षिक रुपमा १५ अर्बको पेट्रोल गाडी भित्र्याईने गरिएको र १५ अर्ब बराबर पार्टपुर्जा र लुब्रिकेन्ट हरेक वर्ष भित्रिएको वस्तुअवस्थापनि उनले सार्वजनिक गरे । यसले नेपालको मुद्रा कसरी बाहिरिएको छ भन्ने पनि प्रष्ट हुने उनको तर्क छ । ईलेक्ट्रिक गाडीलाई प्रोत्साहन गर्न सकेको भए नेपालले पेट्रोलमा नेपालले भारतसँग व्यहोरिरहेको व्यापार घाटा पनि कम हुने थियो भन्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *