विकृतिमुक्त तिजको खोजी

Sharing is caring!

भदौ २७, २०७५ ।  तिज भनेको आफ्नो जिन्दगीको निर्णय आफैँ गर्न पाऊँ भनी परिवारभित्र माता पार्वतीले विद्रोह गरेर सफलता पाएको दिन हो । त्यसै वेलादेखि तिज र नारीको दुःखले निरन्तरता पाउँदै आएको छ । नेपाली नारीले आफ्नो जिन्दगीको निर्णय आफैँ गर्न पाउने अधिकार स्थापित गरी हर्षोल्लासपूर्ण वातावरणमा तिज मनाउन भने अझै पाएका छैनन् । नेपाली नारी त्यसमा पनि आर्य समाजभित्रका महिलाले मात्र मनाउने गरेको यो पर्व मिठो दर र रातो सारीको ब्रान्ड बनेर विश्व बजारमा पुगेको छ । पोषिलो खाना र रातो रङ शक्तिको पहिचान हो । वर्षमा एक दिन आफूलाई स्वतन्त्र र शक्तिवान् भएको महसुस गर्ने नेपाली नारीले तिजको अवसर पारेर मन मिल्ने आफन्त वा साथीसँगी भेट्ने, दुःख पोख्ने, मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने उत्सवको रूपमा मनाउँदै आएका छन् । समय परिवर्तनसँगै तिजमा पोखिने महिलाका दुःखका विषय फेरिँदै आएका छन् ।

नेपाली समाजमा जुन वेला बालविवाहसँगै सतीप्रथा भित्रियो, त्यसैवेलादेखि महिलाले आफ्ना सम्पूर्ण अधिकार बिर्सिएर पतिको लामो आयुको कामना गर्दै तिजको व्रत बस्न सुरु गरे । कारणः बाल्यावस्थामै जवान वा बुढोसँग विवाह हुन्थ्यो अनि आफू जवान हुँदा मृत्यु हुने पतिसँगै सती जानुपथ्र्यो ।

 

पतिसँगै आफ्नो बाँच्न पाउने अधिकार जोडिएकाले त्यो समय तिजको व्रत बसेर पतिको लामो आयुको कामना गर्नु स्वाभाविकै पनि थियो । नेपाली समाजमा सतीप्रथा अन्त्यका लागि योगमायाले विद्रोह गरिन् । सतीप्रथा अन्त्य भयो तर त्यसलाई उत्सवका रूपमा मनाइएन ।

कारणः विद्रोही योगमाया सफलताको त्यो खुसी मनाउनुअघि नै आफ्ना ६५ जना अभियन्तासहित अरुण नदीमा हाम फालेर बेपत्ता भइन् । तत्कालीन सरकारले ती ६५ जनामध्ये कसैको पनि लास फेला पार्न सकेन । योगमायाले सप्तचण्डी साधनाको बलले त्यो अभियान चलाएकी थिइन् ।

अहिले देश गणतान्त्रिक संघीय राज्य प्रणालीमा गइसकेको छ । सञ्चार क्षेत्रमा भएको प्रगति, शासन व्यवस्थामा आएको परिवर्तन आदिले महिलाको सोचमा पनि परिवर्तन आएको छ । महिलाले आफ्नो अधिकारबारे थाहा पाउन थालेका छन् ।

जसका कारण परम्परादेखि महिलामाथि थोपरिएको पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वलाई निरन्तरता दिँदै घरबाहिर निस्केर आय आर्जनको काममा सरिक हुन थालेका छन् । आर्थिक रूपमा सक्षम महिला मानवअधिकारको दायराभित्र आफूलाई उभ्याउन प्रयत्नरत छन् । परिवार र कार्यालयको दोहोरो भूमिकामा रहेका कामकाजी महिला शारीरिक र मानसिक थकानमा छन् ।

जसका कारण परिवारमा विचलन आउन थालेको छ । वृद्धवृद्धाको हेरचाहमा कमी, कुलतमा फस्ने युवाको जमातमा वृद्धि, बालिका र वृद्धामाथि हुने यौन दुव्र्यवहार एवं वैवाहिक यौनहिंसाका शृखंलामा वृद्धि हुँदै गएको छ । एउटी गृहिणी मानसिक रूपमा स्वस्थ नहुँदा उसको सम्पूर्ण परिवार क्षतविक्षत् हुन्छ ।

पछिल्लो समय समाज त्यतैतिर मोडिएको देखिन्छ । महिलालाई आफ्नो अधिकार खोसिएको थाहा छ, तर स्थापित गर्न सकेको अवस्था छैन । सबै किसिमको दायित्वले थिचिएर अधिकार खोज्न हिँडेका महिलाको बहिर्गमनले परिवारमा वृद्धवृद्धा र बालबालिका असुरक्षित र बेसहारा बन्दै गएका छन् ।

सत्ययुगमा माता पार्वतीले चलाएको महिलामुक्ति अभियान आजसम्म आइपुग्दा परिवार वा समाजबाट महिलालाई कति उपलब्धि हासिल भयो भन्दा पनि कति दुव्र्यवहार महिलामाथि भइरहेको छ ? भनी लेखाजोखा हुन थालेको छ । तिज दरको अवसर पारेर महिनौँअघिदेखि सामूहिक रूपमा भेला भएर सम्बन्धहरू सुमधुर कसरी बनाउने ?

महिलाका समस्या पहिचान गरी समाधानका उपायको खोजी गर्ने र महिलामाथि हुने हत्याहिंसाविरुद्ध महिलाहरू एकजुट भएर खबरदारी गर्ने परिपाटी थालनी भएको छ । गत हप्ता साथी संस्थाको अगुवाइमा आयोजना गरिएको तिज दर कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि कालो पोसाकमा उपस्थित भएर वृद्धा र बालिका बलात्कारको विरोधमा सामूहिक छलफल गरे ।

त्यसैगरी भ्वाइस अफ ओमेन फर प्रोस्पेरिटी नामक संस्थाले आफ्नो मौलिक संस्कृति जोगाउँदै तिज मनाऔँ, दर खाने प्रवृत्तिमा देखिएको विकृतिलाई हटाऔँ भनी पेस गरिएको कार्यपत्रमाथि छलफल चलायो । यसै हप्ता सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क २८ वडाले ९३ वर्षीया गंगामाया खड्गीलाई प्रमुख अतिथि बनाएर सम्मानजनक तरिकाले तिज मनाऔँ भन्दै ३३ जना वृद्धालाई सम्मान गर्‍यो । अब तिज दर खाएर पतिको लामो आयुको कामना गर्दै बसिने निराहार व्रतमा सीमित छैन । भोको पेटले पतिको आयु र प्रेम मापन गर्न सक्दैन भन्ने नेपाली महिलाले बुझ्न थालिसके ।

समय परिस्थितिअनुसार हामीले मनाउँदै आएका रीतिरिवाज र संस्कृति परिवर्तन गर्न जरुरी छ । आकाश र धर्तीको सहकार्यविना सृष्टि सम्भव छैन । आधा आकाश होइन, अब नेपाली महिलाले पूरै धर्ती भएर पूरै आकाश ओगट्ने पुरुषसरह समान अधिकार खोजेका छन् । तिज प्रेम प्राप्तिको सुअवसर हो । यो पर्वमा सकारात्मक पक्ष मात्रै छन् । नकारात्मक पक्ष त हामी आफैँले भित्र्याउँदै छौँ । सामाजिक मूल्य र मान्यतालाई पनि सम्मान गर्दै सौहार्दपूर्ण वातावरणमा तिज मनाउनु आजको आवश्यकता हो ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *