राष्ट्रिय क्लब लिग भलिबल : टिपटप र आर्मीको जित

Sharing is caring!

असार २७, २०८० । टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हात पार्न सफल भएका छन् ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको बुधबार सम्पन्न खेलमा हेल्प नेपालले नेपाल पुलिसलाई ३–२ सेटमा पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको हो । टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १-१ सेटको बरावरीमा ल्यायो । यस्तै पुनः हेल्प नेपालले तेश्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८–२५ ले पराजित भए पश्चात खेल २–२ को अवस्थामा पुग्यो । संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप ३ अंक बटुल्यो । यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अंक भएको छ ।

यस्तै अर्को खेलमा आर्मीले पनि अर्को विभागीय टोली एपीएफलाई ३–२ को संघर्षपूर्ण जित निकाल्यो । आर्मी पहिलो सेट एपीएफसंग १८–२५ ले पराजित भयो । दोश्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुनः २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो । चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अंक जोड्यो । यसका साथ आर्मीको पनि ९ अंक भएको छ । १२ अंकका आधारमा हेल्प नेपाल पहिलो स्थानमा रहेको छ ।

पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अंक जोडेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *