राजीनामा दिएका पाठकलाई तत्काल कारबाही गर्नुपर्छ: पूर्व मन्त्री तामाङ

Sharing is caring!

फागुन ५, २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता तामाङले भने,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’

उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह«ास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।’

तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन् । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन् । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’
उनले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भिर अपराध भएको टिप्पणी गरे । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले अदालतमा पछिल्लो समय उज्यालो किरण देखापरेको बताए ।

तामाङले भने,‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु। अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’

फरक प्रसँगमा उनले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले भने,‘स्वयम प्रधानमन्त्रीज्यूले पनि यो पहिलो वर्ष आधार वर्ष भयो भन्नुभएको छ । ऐन, कानुन बनायौं । जनताले भनेजस्तो रिजल्ट नआएको सत्य हो, तर सरकार असफल भयो भन्न मिल्दैन् ।’

उनले सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामू पार्टीले पुर्याउन नसकेको बताए । उनले भने,‘पार्टीको सांगठनिक एकताका काम अघि बढाउन नसक्दा सरकारले अघि बढाएका राम्रा कामहरुको प्रचार भएको छैन् । जनतासामु सरकारका कामहरु पुर्याउन सकिएको छैन् ।’
प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाई थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’

यद्धपी उनले केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरु गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *