राजविराजमा नियमित उडान, सप्तरीवासी उत्साही

Sharing is caring!

असार १०, २०७५ । सप्तरीको राजविराज विमानस्थलमा आइतबारदेखि नियमित उडान हुने भएको छ । श्री एयरलाइन्सले सातामा ५ दिन उडान भर्नेछ । पक्की धावनमार्ग बनेपछि नियमित उडानको बाटो खुलेको हो ।

यसअघि श्रीले परीक्षण उडान गरेको थियो । अब आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौं–राजविराज उडान भर्ने गरी सेवा सुरु गर्न लागेको जनाएको छ । काठमाडौं–राजविराज सवा १ बजे र राजविराज–काठमाडौं २ बजेर १० मिनेटमा उड्ने गरी समय तालिका सार्वजनिक गरिएको छ ।

२०१६ मा उद्घाटन गरिएको यो विमानस्थलमा केही समय मात्र जहाज चलेको थियो । त्यसपछि कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै सेवा बन्द गरिएको थियो । अहिले एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण गरिएको छ । ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे कालोपत्रे गर्ने कार्य सकिएको छ ।
सप्तरीवासी उत्साही
नियमित उडान हुने भएपछि सप्तरीवासी उत्साही छन् । जनप्रतिनिधिले अब नियमित उडानको सुनिश्चितता हुनुपर्ने बताए । उनीहरूले नियमित उडान सुरु भएमा यात्रु अभाव नहुने र सप्तरीका अतिरिक्त सुनसरी, सिरहा, उदयपुर र सीमावर्ती भारतीय क्षेत्रका नागरिकलाई पनि सुविधा पुग्ने बताए ।
‘नियमित उडानको तयारी गरिनु सप्तरीवासीका लागि खुसीको कुरा हो,’ राजविराज नगरपालिकाका मेयर शम्भु यादवले भने, ‘अब कहिले बन्द नहुने गरी विमानस्थलमा नियमित उडान हुनुपर्छ, हाम्रो स्तरबाट हुने सहयोग गर्न तयार छौं ।’ प्रदेश २ का कृषि तथा भूमि व्यवस्थापनमन्त्री शैलेन्द्रप्रसाद साहले विमानस्थल सञ्चालनले सप्तरीको विकासको ढोका खुलेको बताए । ‘अब सबै पक्षले नियमित उडानका लागि सहयोग गर्नुपर्छ,’ उनले भने ।
सीमावर्ती भारतीय बजार कुनौलीदेखि राजविराजसम्मको सडक निर्माण, भन्सार कार्यालयको स्तरोन्नति र राजविराज–सखडा सडक निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण भए विमानस्थल आउजाउमा निकै सहज हुने स्थानीयले बताए ।यो खबर आजको कान्तिपुरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *