यौन शोषणको आरोपमा धार्मिक आश्रम सञ्चालक पक्राउ

Sharing is caring!

वैशाख ९, २०७५ । धार्मिक आश्रममा रहेका अपाङ्ग भएका व्यक्तिलाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार साँझपख पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । शर्माले आश्रममै बस्दै आएका अपाङ्गता भएका किशोरी र महिलालाई यौन शोषण गरेको डीएसपी ढकालले बताए । ‘हामीलाई प्राप्त भएको सूचनामा वैशाख १ गते राति आश्रममा रहेका दुईजनालाई सञ्चालक शर्माले जबर्जस्ती करणी गरेको भन्ने छ’ डिएसपी ढकालले भने । पीडित हुनेमा एकजना १९ वर्षीया किशोरी छन् । जसको खुट्टा राम्रोसँग चल्दैन । त्यस्तै अर्को एकजना २७ वर्षीया महिला छन् । प्रहरीका अनुसार उनी बौद्धिक अपाङ्गता (सुस्त मनस्थिति) भएकी महिला हुन् ।

घटनापछि शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा बसेको बालकल्यण समितिको बैठकले आश्रम तत्कालै बन्द गर्ने निर्णय गरेको छ । थप अन्य विषयमा छानबिन गर्न समिति बनाएको छ ।
चितवनको महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलका अनुसार २०७३ सालको फागुनमा दर्ता भएर संस्थाले आश्रम चलाएको देखिन्छ । विधानमा धार्मिक संस्था भने पनि बोर्डमा आश्रम पनि थपेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिइन् । संस्थाको बारेमा थप बुझ्न महिला तथा बालकालिका कार्यालयका महेश पौडेलको संयोजकत्वमा समिति बनेको छ ।
आश्रमकै सल्लाहाकार रहेका प्रद्युम्न सापकोटाले सञ्चालक शर्माविरुद्ध चितवन प्रहरीमा शुक्रबार किटानी जाहेरी दिएका छन् । ‘स्थानीयका अनुसार उनी त्यस्तो घटनामा संलग्न रहेको भन्ने बुझिन आएको भन्दै सञ्चालकविरुद्ध किटानी जाहेरी दिएको हो’ आश्रमको सल्लाहाकार रहेका सापकोटाले भने । बाह्रघरेमा शर्माले आठ महिनाअघि आश्रम चलाएको उनले बताए । ‘म नारायणगढ कमलनगरमा नै बस्छु । त्यही नै पाँच वर्षअघि विष्णुप्रसादले होटल चलाएका थिए । उनीसँग यसरी चिनजान भएको हो । त्यसैका आधारमा संस्थाको सल्लाहकार बनाएका हुन् । मलाई आश्रमका बारेमा अरु धेरै जानकारी थिएन । आज यस्तो खबर सुन्नु पर्‍यो’ सापकोटाले भने ।
भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले स्थानीयले नै घटनाको सूचना दिएको बताए । ‘एक गते त्यस्तो घटना भएको भन्ने सूचना बिहीबार आयो । त्यसपछि सञ्चालकलाई तत्कालै समातेर शुक्रबार अनुसन्धानका लागि हिरासतमा राख्न चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएका छौं’ डिएसपी ढकालले भने । प्रहरीले समातेपछि सञ्चालक शर्मालाई भेट्न सल्लाहकार सापकोटा पनि गएका थिए । त्यस्तो काम आफूले नगरेको शर्माको भनाइ रहेको सापकोटाले बताए ।
आश्रममा पीडितहरुसहित छ जना बस्दथे । एउटा निजी घरको चारवटा कोठा भाडामा लिएर आश्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ । सञ्चालक शर्मा पनि परिवारसहित नै त्यही बसेका थिए । घटनापछि प्रहरीले आश्रम बन्द गरेपछि त्यहाँ आश्रय लिएका ६ जनालाई अन्यत्र राखिएको छ । दुईजना महिलाबाहेक अरु पुरुष थिए । ती पनि अपाङ्गता भएका थिए ।
आश्रमममा बस्नेहरुमा १६ देखि ३५ वर्षसम्मका व्यक्तिहरु त्यहाँ थिए । ‘यस्तो घटना त्यो एक दिनको मात्रै नभएर पटक पटक हुने गरेको भन्ने सूचना हामीलाई छ । अनुसन्धानले धेरै पाटो खुलाउला’ महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलले भनिन् । यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *