मुख्यमन्त्रीको आरोप: केन्द्रको एकात्मक सोच र कर्मचारीतन्त्र नै प्रदेश सरकारका बाधक

Sharing is caring!

भदौ २२, २०७५ । सङ्घीय सरकारको एकात्मक सोच र कर्मचारीतन्त्रको कार्यशैलीका कारण प्रदेश सरकारले काम गर्न नसकेको मुख्यमन्त्रीहरूले गुनासो गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पोखरामा बिहीवार आयोजना गरेको मुख्यमन्त्रीस्तरीय प्रथम भेलामा बोल्ने अधिकांश मुख्यमन्त्रीहरूले केन्द्र सरकार र कर्मचारीको आलोचना गरेका हुन् ।

यही भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश स्तरीय परिषद्को बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले एउटै एजेण्डा तय गर्न पोखरामा मुख्यमन्त्रीहरू भेला भएका हुन् । कर्णाली प्रदेशबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरू बैठकमा उपस्थित थिए । भेलामा केन्द्र सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएको र सहयोगसमेत नगरेको मुख्यमन्त्रीहरूको भनाइ थियो ।

‘बच्चा जन्मिएपछि अभिभावकले हेरचाह गर्नुपर्छ,’ उनीहरूले एक स्वरमा भने, ‘सरकारले अभिभावकको दायित्व पूरा गरेन ।’ बैठकमा मुख्यमन्त्रीहरूले आपसी एकताबाट नै सरकारसँग अधिकार माग गर्ने बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरे ।

उनले साना योजनामा पनि केन्द्र सरकारले हात हालिदिँदा प्रदेशलाई टुक्रे योजना बनाउने दबाब बढेको बताए । ‘५० हजारको योजना पनि आफै बाँड्ने भए प्रदेश तथा स्थानीय सरकार किन चाहियो ?’ उनले भने, ‘हामी कसैको विरोधी र प्रतिस्पर्धी हैन । तर आफ्नो अधिकार क्षेत्रभित्र बस्नुपर्छ ।’ संविधानमा स्थानीय तह, प्रदेश र सङ्घको आ–आफ्नै अधिकार क्षेत्र भएकोले सोही अनुसार काम गर्नुपर्ने सुझाव दिए ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकार शून्यताबाट शुरू भएको बताउँदै केन्द्र र स्थानीय सरकार पहिलेदेखि नै भए पनि प्रदेशचाहिँ नयाँ संरचना भएकोले केही जटिलता देखिएको बताए । उनले भेला प्रधानमन्त्रीलाई दबाबका लागि नभएको प्रष्ट्याए ।यो खबर आजको आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *