महिला अधिकार स्थापनाका लागि अझै आन्दोलनको आवश्यकता

Sharing is caring!

फागुन २४, २०७५ । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।

दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।

नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् ।

विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभै आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीले दावी गरिन् । आगामी दिनमा महिलामाथिग हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।

“शाषक र शाषित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?” रेग्मीले प्रश्न गरिन् ।

रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृश्टीकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् । “अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो ।” उनले भनिन् ।

रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । “८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन ।” रेग्मीले भनिन् ।

रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दावी गरिन् । सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दावी गरिन् ।

पछिल्लो समय महिला आन्दोलन सुस्ताएको भन्दै उनले सबै दलका महिला नेतृ र अधिकारकर्मीलाई एक हुन आग्रहसमेत गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *