मन्त्री बस्नेत भन्छन् – बेथिति हटाउन जोखिम मोलेको छु

Sharing is caring!

असार २८, २०८० । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयमा नातावादको आधारमा काजमा कर्मचारी बसाउने तथा मन्त्रीको सिफारिसमा डाक्टरको सरुवा गर्ने परम्परा प्रमुख बेथिति रुपमा रहेको बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा मात्रै हाल ८०० जना काजमा कर्मचारी नातावादको आधारमा लगेर राखिएको स्पस्ट पारे ।

उनले भने, ‘मन्त्रालगमा गएपछि यो समस्यालाई गम्भीरताको साथ देखे,स्वास्थ्य मन्त्रालयमा ८०० जना मान्छे त काजमा बसेका छन् । म जस्तै मन्त्रीहरुले राख्या हुन् । त्यसमा अन्य कर्मचारीले पनि च्याँखे हानेका होलान् तर, नेतृत्व हामी जस्ताले नै गरेको हो ।’

उनले पावरको आधारमा गरिने कर्मचारीको सरुवा र काजमा कर्मचारी राख्ने प्रवृति ठूलो समस्याका रुपमा रहेको भन्दै कडा कदम नचाले स्वास्थ्य मन्त्रालय सुधार गर्न नसक्ने बताए । स्वास्थ्य मन्त्रालयमा देखिएको बेथिति अन्त्यका लागि आफूले जोखिम उठाएर कार्य गरिरहेको भन्दै उनले त्यसको लागि सहयोगको पनि अपील पनि गरे ।

पावर र पहुँचको आधारमा स्वास्थ्यकर्मी नियुक्ति र डाक्टर सरुवा गर्ने बेथितिको कारण दुर्गममा आवश्यक दरबन्दी अनुसार पनि डाक्टर उपलब्ध नहुने र राजधानीमा भने दरबन्दी भन्दा बढी डाक्टर बस्ने गरेको प्रवृति बताउँदै मन्त्री बस्नेतले त्यसको अन्त्यको लागि आफूले पहल गरेको बताए ।

उनले भने ‘यो बेथितिलाई हटाउनको लागि मैले अत्यन्तै जोखिमको साथ कदम उठाएको छु । त्यो मात्रै होईन बेथितिसंग कर्मचारी नियुक्ति गरेर पठाएको ठाउँमा कर्मचारी नगएका कारण यही वर्ष १० महिनादेखि कर्मचारीले खान नपाएको तलव, मेरो पहलमा ९५ करोड ल्याएर तलव खुवाए । यहि अवस्था रहने हो भने अर्को चोटी तिनलाई डेढ अरब तलवको लागि चाहिन्छ,राज्यले धान्न सक्छ?’

मन्त्री बस्नेतले मन्त्रालयको बेथितिको अन्त्यका लागि पहल कदम उठाउँदा सचिवालयमा धम्की समेत आउन थालेको दावी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *