मधेसको ‘थर्ड पोल’ हुन सक्छन् राउत
फागुन २५, २०७५ । मूलधारको राजनीतिमा आउने सीके राउतको कदमलाई स्वागत गर्दै राजपा नेता मनीष सुमनले फेसबुकमा लेखे- ‘राउतलाई संसदीय राजनीतिमा स्वागत ।’ विखण्डनको मुद्दाबाट पछि हटेर राउत मूलधारको राजनीतिमा आउनुले सकारात्मक तरंग दिएको छ ।
‘उहाँले हामीजस्तै संसदीय राजनीति र चुनावी प्रतिस्पर्धामा भाग लिन खोज्नुभएको हो भने त्यो अत्यन्तै सुखद र स्वागतयोग्य हो,’ सुमनले भने, ‘अखण्ड नेपालभित्रै हामीले हाम्रो सम्मान र अधिकार खोजेका हौं । उहाँ पनि यही लाइनमा आउनु सकारात्मक हो ।’
अहिले भइरहेका राजनीतिक दलमा प्रवेश नगरे राउतको रोजाइ मधेसकेन्दि्रत नयाँ राजनीतिक दलको गठन हुन सक्छ । शुक्रबारको सभासम्म उनले आगामी कदमबारे स्पष्ट गरिसकेका छैनन् ।
अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत सप्तरी महदेवाका राउतले सन् २०११ मा नेपाल फर्किएर स्वतन्त्र मधेस राष्ट्र स्थापनाको माग गर्दै राजनीतिक गतिविधि बढाएका थिए । स्वतन्त्र मधेस गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनलाई सरकारले ‘देश टुक््रयाउँछु भन्ने प्रशिक्षण दिएको र कार्यक्रम गरेको’ आरोपमा थुनामा राखेको थियो ।
प्राध्यापक सुरेन्द्र लाभले राउत मधेसमा ‘थर्ड पोल’ का रूपमा उदाउन सक्ने बताए । फोरम र राजपासँगै एउटा दल थपिने उनले अनुमान लगाए । ‘अरूले गलत भनेकै थिए, राउत स्वयंले आफ्नो थेसिसलाई गलत मानेर यू टर्न भएका छन्, सही अर्थमा यू टर्न यही हो,’ उनले भने, ‘लामो संघर्ष गरेको माओवादीको गन्तव्य सुनिश्चित हुन सकेन । त्यसबाट पनि ज्ञान भएको हुनुपर्छ ।’
विखण्डनको पाठ रटाएका आफ्ना अनुयायी युवा पंक्तिलाई सम्झाउन राउतलाई चुनौती हुने उनले उल्लेख गरे । राउतका कतिपय अनुयायीले सामाजिक सञ्जालमार्फत उनको कदमको विरोधसमेत गरेका छन् ।
राज्य विप्लवको मुद्दामा थुनामा रहेका बेला राउतका अधिकांश मुद्दामा बहस गर्दै आएका राजविराजका वरिष्ठ अधिवक्ता हिम्मत सिंहले उनको यो कदमलाई ‘सरप्राइजिङ’ भने । ‘कहाँबाट, कसले सल्लाह दियो, थाहा भएन,’ उनले भने, ‘उनले एकाएक नयाँ खालको राजनीतिक कदम चाल्नु मेरो लागि सरप्राइज हो । यो घटनाक्रमले उनले गरेको आन्दोलनको अवमूल्यन भएको छ ।’
राउतले आफ्नो भाषणमा जेलमा आफूमाथि भएको हिंसा सुनाएकाले विभिन्न जेलमा रहेका कार्यकर्ताको पीडा सम्झेर पनि यस्तो कदम चालेको हुनसक्ने उनले अनुमान गरे । पदकै पछि लागेर छवि धुमिल्याएका मधेसवादी नेतामाझ राउतको प्रतिस्पर्धाले मधेसको राजनीति ‘भाइब्रेट’ हुने उनले बताए ।
पछिल्ला दुई दिनमा राजपाबाट विजयी सांसद रेशम चौधरीलाई आजीवन कारावास, राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सर्वोच्चको आदेशबाट राउत रिहा र लगत्तै मूलधारको राजनीतिमा आउने घोषणाजस्ता महत्त्वपूर्ण राजनीतिक घटनाक्रम भएका छन् ।
नागरिक अगुवा दिग्विजय मिश्र यी सबै घटनाक्रमलाई प्रदेश २ को राजनीतिसँग जोडछन् । उनको बुझाइमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हातबाट गुमेको प्रदेश २ को राजनीतिलाई फर्काउने प्रयत्नस्वरूप ‘स्मार्ट’ कदम चालिरहेका छन् । ‘निसाना प्रदेश २ को राजनीतिमाथि छ, तमाम प्रयास त्यसैका लागि भइरहेको छ,’ उनले भने ।
राउतको मधेस अलग राष्ट्रको नाराले मूलधारको राजनीति गरिरहेका फोरम र राजपाका अगाडि पनि विश्वासको संकट थियो । संघीयता र प्रदेशको मुद्दा नै अविश्वासको घेरामा पर्दै आएको थियो । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले राउतको विखण्डनवादी राजनीतिले मधेसको मुद्दालाई कमजोर बनाएको बताए । ‘प्रदेश माग्दा काठमाडौंले देशै मागेको सुन्थ्यो, विखण्डनको आवाजले मधेसको मुद्दालाई बल पुग्दैनथ्यो,’ उनले भने, ‘नेपालभित्रै अधिकार खोज्ने हाम्रो राजनीतिलाई राउतको कदमले सहयोग पुग्नेछ ।’