विद्यालयले राष्ट्रिय झन्डा फहराउनुपर्ने

Sharing is caring!

फागुन २५, २०७५ । आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्यरूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यूनतम् पाँच मिटर ८० सेन्टिमिटर (१९ फिट)को अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झन्डा फहराउनुपर्ने र मूलद्वारबाट सामान्यतया मध्य भागमा वा बीचमा प्रष्ट देखिने गरी राष्ट्रिय झन्डा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा राष्ट्रिय झन्डा फहराउने संस्थाले नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिनमा अनिवार्य रूपमा राष्ट्रिय झण्डा झुकाउनु व्यवस्था गरिएको छ ।
यसैगरी कामपा शिक्षा समितिले हरेक विद्यालयमा कक्षा सुरु हुनुभन्दा अगाडि अनिवार्यरुपले राष्ट्रिय गान गाउनुपर्ने पनि निर्णय गरेको छ । सोही कार्यविधिमा राष्ट्रिय गान उच्च सतर्कताका साथ गाउनुपर्ने व्यवस्था छ । शिक्षा विभाग प्रमुख कोइरालाले छातीमा हात राखेर राष्ट्रिय गान गाउनु गलत अभ्यास रहेको बताउँदै दुवै हात तल राखेर राष्ट्रिय गान गाउनुपर्ने बताउनुभयो ।

उहाँले आगामी २०७६ सालको नयाँ शैक्षिकसत्रबाट लागू हुने गरी कामपाभित्रका सबै विद्यालयले आफ्नो बोर्डमा देवनागरिक लिपिमा पनि विद्यालयको नाम लेख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
प्रायः सबै सामुदायिक विद्यालयमा देवनागरिक लिपिमा विद्यालयको नाम लेख्ने गरिए पनि संस्थागत (निजी) विद्यालयले आफ्नो बोर्डमा प्रायः अङ्ग्रेजीमा मात्र नाम लेख्ने गरेको पाइएको छ । कामपाभित्र ९१ वटा सामुदायिक र ६४० वटा संस्थागत विद्यालय सञ्चालित छन् ।

कामपाले हाल कक्षा ११ र १२ मात्र सञ्चालनमा रहेका विद्यालयलाई कक्षा १ सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । माध्यमिक तहका रुपमा कक्षा १२ सम्म हुने भएकाले विगतमा कक्षा ११ र १२ मात्र अनुमति लिई सञ्चालन गरेकालाई तलको कक्षा सञ्चालन गर्न चाहेमा अवसर दिइने भएको छ ।
उहाँले त्यस्ता विद्यालयले कक्षा १ सञ्चालनका लागि माग गरेमा मापदण्ड पूरा भएको देखिए सहकारी वा शैक्षिक गुठी अन्तर्गत प्रति शैक्षिकसत्रमा एउटा कक्षाको मात्र अनुमति दिने गरी निर्णय भएको बताउनुभयो ।
कामपाका शिक्षा विभाग प्रमुख कोइरालाले महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा वृक्षरोपणका लागि प्रतिविद्यालय २५ हजार रुपियाँ, शौचालय सरसफाइ तथा मर्मत सम्भारका लागि प्रतिविद्यालय ५० हजार रुपियाँ, बाल यौन हिंसा न्यूनीकरण सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि प्रतिविद्यालय पाँच हजार रुपियाँ गरी एकमुष्ठ ८० हजार रुपियाँ सवै विद्यालयलाई अनुदान दिइने जानकारी दिनुभयो ।यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *