भ्रमण वर्ष–२०२० सफल हुने पूर्व पर्यटनमन्त्री पोखरेलको विश्वास

Sharing is caring!

पुस १५, २०७६ । पूर्व पर्यटनमन्त्रीद्धय आनन्द प्रसाद पोखरेल र दिलनाथ गिरी, र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास दिलाएका छन् । भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले भ्रमण वर्ष भव्य रुपमा सफल हुने स्पष्ट पारे ।

पोखरेलले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सफल हुने विश्वास दिलाए । सरकारले भ्रमण वर्षलाई सफल तुल्याउनको लागि सुरुदेखि नै सक्रिय रुपमा काम गरेको बताउँदै भ्रमण वर्ष सफल हुने उनको भनाई छ । उनले भने,‘सन् २०१६ मा म पर्यटनमन्त्री हुँदा भ्रमण वर्षको कामले गति लिएको थियो । मेरो पालामा मैले २०१६ देखि २०२६ सम्मको एक दशकको पर्यटन रणनीति बनाएको थिएँ । त्यो स्विकृतपनि भएको थियो ।’ उनले उक्त पर्यटन रणनीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

सरकारले सन् २०३० सम्मको लागि दिगो विकासको लक्ष्य लिएको बताउँदै उनले पर्यटन विकासलाई पनि सोहीसँग जोड्न्पर्ने धारणा राखे । उनले नेपालको विकास र समृद्धिको आधार कृषि, जलस्रोतमात्रै नभएर पर्यटनपनि मुख्य आधार भएको सुनाए । उनले भने,‘पर्यटनलाई अब विदेशी मुद्रा आर्जनको माध्यम बनाउनुपर्छ ।’

उनले अहिलेपनि नेपालका ४६ जिल्लामा खाद्यान्न अभाव रहेको सुनाए । उनले भने,‘कृषिलाई जबरजस्त निर्यातमुखी बनाउनुपर्छ । नग्दे बालीको रुपमा रहेका कफी, चियाजन्य अर्गानिक उत्पादनलाई निर्यात गर्नुपर्छ ।’ पर्यटनको विकासको लागि सबैन्दा पहिले पर्यटकीय गन्तव्य बनाउनुपर्ने, राम्रो हस्पिटालिटी र सुरक्षाको प्रवन्ध गर्नुपर्ने उनले बताए । नेपालमा एक सय वा डेढ सयमात्रै पर्यटकीय गन्तव्य नभएर ७ सय ५३ वटै गाउपालिकामा पर्यटकीय गन्तव्य बनाउनुपर्ने पनि उनले सुझाव दिए ।

प्रत्येक जनतालाई पर्यटनसँग जोड्नुपर्ने उनको सुझाव छ । उनले भने,‘यसको लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्छ ।’ नेपाल ऋगवेदको उद्गमस्थल भएको सुनाउँदै उनले विश्वमा यो चीज कुनैपनि देशमा नभएको बताए । उनले भने,‘त्यस्तै बुद्ध दर्शनको उत्पत्तिपनि नेपालमा नै भएको हो । बुद्ध नेपालमा जन्मिएको मात्रै होईन, विश्वमै यो दर्शन नेपालमै उत्पत्ति भएको हो ।’ उनले सगरमाथापनि विश्वमा कहीँ नभएको सुनाउँदै नेपालमा मात्रै रहेको बताए ।

उनले नेपालमा २० लाखमात्रै नभएर त्योभन्दा पनि धेरै ठूलो संख्यामा पर्यटकहरु नेपाल आउने दाबी गरे । उनले भने,‘नेपालमा जे कुराको पनि प्राकृतिक आकर्षण छ । सन् २०२० मा २० लाखमात्रै होईन आधा करोड अर्थात पचास लाख पर्यटक नेपाल आउन सक्छन् ।’ उनले केही समयभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने हुँदा नेपाल आउने पर्यटकको संख्यापनि बढ्ने विश्वास दिलाए ।

निजी क्षेत्रले पनि कसैको मुख नताकी पर्यटन क्षेत्रको विकासको लागि काम गर्नुपर्ने उनले सुझाए । विश्वभरि ४ अर्बभन्दा बढि हिन्दूहरु र एक अर्बको हाराहारीमा बुद्धिष्टहरु रहेको सुनाउँदै उनीहरुलाई नेपाल भ्रमणको लागि आकर्षण गर्न सकिए धेरै फड्को मार्न सकिनेपनि पोखरेलको विश्वास छ ।

चिनियाँ पर्यटकहरु नेपाल भ्रमणकोलागि धेरै आउने उनको भनाई छ । उनले भने,‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा गर्नुभएको प्रतिबद्धताअनुसार चिनियाँ नागरिकहरु नेपाल भ्रमण वर्षलाई सफल बनाउन चाहन्छन् । उनीहरु ठूलो संख्यामा नेपाल आउने हाम्रो बुझाई छ । सन् २०२० मा पनि चीनबाट ५ देखि १० लाख चिनियाँ नागरिकहरु नेपाल भ्रमणमा आउनेछन् ।’

पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिए । तर, विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको उनको गुनासो छ । उनले भने,‘म भर्खरे युरोपका विभिन्न देश र अष्ट्रेलियाको भ्रमण गरेर स्वदेश फर्किएको छु । त्यहाँ मैले नेपालको भ्रमण वर्षको खासै प्रचारप्रसार भएको देखिँन् । नेपालमा चाहीँ धेरै हल्लाखल्ला चलेको छ । भ्रमण वर्ष भन्नेबत्तिकै विदेशीहरुलाई नेपाल ल्याउने कुरा हो । त्यसको लागि त विदेशमा राम्रो प्रचारप्रसार हुनुपर्ने हो नि ।’

उनले आर्थिक दृष्टिकोणले पनि नेपालको समृद्धिमा ठूलो छलाङ मार्ने क्षेत्रको रुपमा पर्यटनलाई लिन सकिने बताए । उनले भने,‘विश्वमा नभएका चिजहरु नेपालमा प्राप्त छन् । नेपाल हिन्दू दर्शनको लागि पनि विश्वमै परिचित छ । यो देवभूमी हो । ऋषिमुनीहरुको भूमी हो । ज्ञान भूमी हो ।’

भ्रमण वर्षको प्रचारप्रसारको लागिमात्रै १ अर्ब ५० करोड बजेट छुट्याईएको सुनाउँदै तर सोअनुसार काम नभएको उनको संकेत थियो । उनले भने,‘होमवर्क मैले राम्रो देखिन् । बास्तवमा पत्रकार साथीले अघि भन्नुभयो, काठमाडौंको जाम, खाल्डाखुल्डी यस्तो छ, पर्यटक के हेर्न आउने ?’
उनले नेपाली जहाज युरोपको आकाशमा ब्ल्याक लिष्टमा रहेको सुनाउँदै यो हटाउनको लागि ध्यान दिनुपर्नेपनि बताए ।

भ्रमण वर्षको प्रचारप्रसारको लागि सरकारले मिडियालाई उपयोग गर्नुपर्ने बताए । उनले भने,‘विदेशमा भ्रमण वर्षको प्रचारप्रसारको कुरा गर्दा चार तारे र पाँच तारे केही होटलमा ब्यानर झुण्ड्याईएको छ, अनि दुतावासले सानो अन्तरक्रिया गर्ने गरेका छन् । यो त पूरानो पद्धती हो ।’ भ्रमण वर्षको प्रचारप्रसारको लागि सामाजिक सञ्जाललाई पनि भरपुर उपयोग गर्नुपर्नेथियो भन्ने उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दिपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदैको यसको लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट पारे । नेपाल विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य भएको उनको भनाई छ ।

भ्रमण वर्षको मुख्य उद्देश्य भनेको देशभित्रका पर्यटकीय गन्तव्य चिनाउनु रहेको उनले बताए । उनले भने,‘पर्यटनलाई आईसोलेसन गर्नै मिल्दैन् । योसँगै विभिन्न सेक्टर जोडिएका हुन्छन् ।’ उनले भ्रमण वर्ष २०२० को स्रोत बजारमा व्यापक प्रचारप्रसार भएको दाबी गरे ।

उनले भने,‘विभिन्न देशका प्लाटफार्ममार्फत प्रचार भएको छ । ट्रेड र कन्जुमर फोकस भएका थियौं । चिनियाँ एक्स–ट्रिपले पनि सहयोग गरेको छ । चिनियाँ नायिका स्वी छिङ जो समर क्विन भनेर परिचित छिन् उनले पनि २ पटक नेपाल भ्रमण गरिन् । उनको अहिलेपनि दुई करोड फलोअर्स छन् ।’ भ्रमण वर्ष सफल बनाउनको लागि व्यापक प्रर्वद्धन भएको सुनाए ।

उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए । उनले भने,‘काठमाडौंका सडकको अवस्था सुधार्नुपर्छ । काठमाडौंमा पर्यटकीय गन्तव्य बनाउनुपर्छ । काठमाडौं उपत्यकाबाहिर समस्या छैन् ।’

पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई दशकको अभियानकै रुपमा अघि बढाउने घोषणा गरेकोले सो कदम प्रशंसनीय भएको सुनाए । उनले भने,‘सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । भ्रमण वर्ष २०२० लक्ष्य प्राप्त हुन्छ ।’ नेपालले पर्यटन क्षेत्रलाई ह्याण्डल गरेको ६० वर्षको ईतिहास भएको सुनाउँदै नेपाल पर्वतीय गन्तव्यबाहेक अरुपनि धेरै कुरा रहेको जोशीको भनाई छ ।

उनले भने,‘हामी कल्चरमा धनी छौं, हेरिटेजमा त्यस्तै छौं, हामीसँग पर्यटकीय गन्तव्यहरु धेरै छन् । यी सबैमा लाईफटाईम एचिभमेन्टको थिममा जानुपर्छ । आउने दशक सोहीअनुसार काम हुन्छ ।’ उनले भ्रमण वर्ष सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *