भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता महोत्सव गर्दै

Sharing is caring!

असार २०, २०८० । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।

आज प्याब्सन काठमाडौंले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म दिवसको अवसरमा आगामी असार २९ गते कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम टुरिजम बोर्डमा विहान ९ बजेबाट सुरू हुनेछ ।

कार्यक्रमका संयोजक एवं प्याब्सन काठमाडौंका सह–कोषाध्यक्ष बिएन अधिकारीले बालसाहित्यको विकास, बालबालिकाभित्र रहेका अन्तर्निहित प्रतिभाको प्रष्फुटन, आदिकवि भानुभक्त आचार्यको सम्मान र श्रष्टाहरुको सम्मान नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

‘बाल साहित्यको विकास गर्नु, बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउनु, साथसाथै विद्यालयस्तरबाट नेपाली साहित्यको विकास गराउनु नै यो कार्यक्रमको उद्देश्य हो । आदिकवि भानुभक्त आचार्यको सम्मान गर्नु र नेपाली साहित्यमा कलम चलाउनेहरुको सम्मान गर्नु पनि यो कार्यक्रमको उद्देश्य हो,’– उनले भने ।

प्याब्सन काठमाडौंका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले साहित्य समाजको पथप्रदर्शक भएको बताए । बालबालिकाहरुमा साहित्यप्रतिको प्रेम जगाउनका लागि कविता महोत्सव गर्न लागिएको उनको भनाई छ । संस्थागत विद्यालयका विद्यार्थीहरु नेपाली विषयमा कमजोर हुन्छन् भन्ने आरोपलाई चिर्न र विद्यार्थीहरुमा साहित्यप्रति भोक जगाउनका लागि पनि कार्यक्रम उपयोगी हुने उनले बताए ।

कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको निजी विद्यालयबाट प्रत्येक विद्यालयबाट एक जना सहभागी हुने गरी ५०जना विद्यार्थी सहभागिता जनाउने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *