सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे, सरोकारवाला कसले के भने ?

Sharing is caring!

असार २०, २०८० । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ काठमाडौंमा आयोजित कार्यक्रममा सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतबाट प्रतिनिधित्व रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्टार नवराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताए । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाई छ ।

‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई न्याय प्रदान गर्न सकिएन भने त्यो सहकारी बच्दापनि बच्दैन,’– उनले भने ।
बचतकर्ताहरुले सहकारीलाई गरेको विश्वासमा संकट आएको कारणले अहिले सहकारीहरुमा समस्या देखिएको उनको बुझाई छ ।

विश्व आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि परेको उनको दाबी छ । नेपालको वित्तिय क्षेत्रको १९ प्रतिशत हिस्सा सहकारीले ओगटेको उनले बताए । सहकारीको सिद्धान्तअनुसार समूदायमा आधारित हुनुपर्ने भएपनि नेपालमा बचतकर्तामा आधारित बनाउँदा समस्या आएको उनले बताए । सहकारीको पैसा बचतकर्तामामात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भएपनि सञ्चालकहरुले घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा अहिलेको समस्या आएको उनको आरोप छ । नेपालमा सहकारीलाई पैसा संकलनको माध्यममात्रै बनाइँदा समस्या उत्पन्न भएको उनले बताए । अहिले साना तथा ठूला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदापनि समस्या विकराल हुँदै गएको उनको बुझाई छ ।

उनले संस्थाको सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर भन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए । विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेको बताए ।

आफ्नो सिमित स्वार्थ पूरा गर्नमात्रै काम गरेका केही सञ्चालकहरुलाई पाता कस्ने काम सरकारले गरिरहेको उनको भनाई छ । धितो नराखी ऋण दिएको खण्डमा सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको बचत रकम फिर्ता गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उनको भनाई छ ।

संस्थाको स्वामित्व, नियन्त्रण र फाइदाबारे सदस्य स्वयम सचेत हुन आवश्यक रहेको उनले बताए । उनले अहिले मनोवैज्ञानिक ढंगले सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भएको बताए । ‘मनोवैज्ञानिक ढंगले संस्थाप्रति अविश्वास सिर्जना भएको छ । सञ्चालक समितिको निर्दिष्ट आचरणको समस्या होला एकातिर, अर्कोतिर त्योभन्दा द्रुत्ततर ढंगले सदस्यहरुको विश्वासमा समस्या सिर्जना भएको छ । सदस्यहरुको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरणलाई जोड्ने काम सरकारले गर्नुपर्छ, हामीले गर्नुपर्छ,’– उनले भने ।

उनले सहकारी बिगिँ्रदा नेपालको अर्थव्यवस्था प्रणाली धरापमा पर्ने बताए । केही सहकारीको अवाञ्छित क्रियाकलापले सिंगो सहकारीमा समस्या र अविश्वासको वातावरण सिर्जना भएको उनको ठम्याईँ छ ।

सुमेरु सहकारीका सचिव विनोद आचार्यले आफूहरुको कारणलेमात्रै सहकारीमा समस्या नआएको स्पष्ट पारे । सुमेरु सहकारी संकटमा पर्नुमा अहिलेको विश्वमा देखापरेको आर्थिक मन्दी प्रमुख रहेको उनको भनाई छ ।
‘सुमेरु सहकारीमा समस्या आएको सुमेरुको आफ्नो मात्रै समस्याले होइन । विश्वमा देखापरेको आर्थिक मन्दीको असरले पनि सुमेरुमा समस्या आएको हो,’– उनले भने । सुमेरु सहकारीसँग गत असारमा तीन अर्ब रुपैयाँ पैसा रहेपनि विभागबाट अनुगमन भएर लगानी गर्न निर्देशन भएकाले आफूहरुले एक अर्ब लगानी गरेको उनले सुनाए । विभागको निर्देशनपछि सहकारीले एक अर्ब रुपैयाँ तत्काल लगानी गरेको उनको दाबी छ ।
‘विभागबाट अनुगमन हुँदा चाहिनेभन्दा बढी लिक्युडिटी राखेको भएकाले तुरुन्त लगानी गर्नुस्, होइन भने नियमानुसार कारबाही हुन्छ भनिसकेपछि एक अरब पैसा हामीले तत्कालै लगानी गर्यौं,’– उनले भने ।

सहकारीमा देखिएको संकटका कारण एक महिनामै दुई अरब रुपैँया पैसा फिर्ता भएको उनको दाबी छ । चुनावपछि सहकारीको अध्यक्ष भरत महर्जन बेलायत गएको उनले बताए । बेलायत गएका अध्यक्ष महर्जन फर्कने लक्षण नदेखेपछि सुमेरु सहकारीबाट सिर्जित उनको नाममा र उनको परिवारका सदस्यको नाममा भएको सम्पत्तिको वारेसनामा पठाउन भनेको उनले सुनाए । सुमेरुको सम्पत्ति लगभग १५ अर्ब रहेको र निक्षेप घटेर ८ अर्बमा झरिसकेको उनको दाबी छ ।
बचतकर्ताको रकम कसरी फिर्ता गर्न भनेर आफूहरु लागिरहेको र ढिलोचाँडो बचतकर्तालाई रकम फिर्ता गर्नेपनि उनले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष महर्जन अहिले आफूहरुको सम्पर्कमै रहेको उनको भनाई छ ।

राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी उप्रेतीले सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक रहेको बताए । सहकारी ऐनमा विद्यालय र उद्योग खोल्ने व्यवस्था रहेपनि शिक्षा ऐन र उद्योग ऐनले रोकेको उल्लेख गदै उनले त्यसलाई खुल्ला गर्नुपर्ने बताए ।

माइतीघरमा बसेरमात्रै सहकारी समस्या समाधान नहुने उनको भनाई छ । अहिले सहकारीमात्रै नभएर कुनैपनि क्षेत्र राम्रो नरहेको उनको भनाई छ । उनले सहकारीलाई पहिला बचाउने र त्यसपछि सुधारका कार्यक्रम ल्याउनुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिलेपनि कतिपय सहरकारीले राम्रो काम गरिरहेको बताए । सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न पनि नसकेको उनको भनाई छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणको गठन हुन आवश्यक रहेको उनले बताए ।

बचत तथा कर्जा सुरक्षण कोष बनाउन राज्यलाई सिफारिस गर्ने तयारी भएको पनि बताए । उनले सदस्यहरुको बचत फिर्ता पाउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको भन्दै अहिलेको अवस्थालाई पार लगाउँदै भोलिका दिनमा यस्ता समस्या नदोहोरियोस् भन्नका लागि राज्यले अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *