बढ्यो विद्युतीय कारोबारको सीमा

Sharing is caring!

चैत्र १०, २०७६ । अब मोबाइल बैंकिङ कारोबार गर्दा प्रतिदिन रू. १ लाखसम्म र मासिक रू. १० लाखसम्म भुक्तानी तथा ट्रान्सफर गर्न पाइने भएको छ । मोबाइल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यही सीमा लागू हुनेछ ।

कोरोना भाइरसको संक्रमणको सम्भावना न्यून गर्न नेपाल राष्ट्र बैंकको भुक्तानी व्यवस्थापन विभागले विद्युतीय कारोबारको सीमा बढाएको हो । विभागले आइतवार नै यससम्बन्धी परिपत्र जारी गरेको छ ।

यससँगै केन्द्रीय बैंकले एजेन्ट सब एजेन्टमार्फत, बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा, एक वालेटबाट अर्को वालेटमा गर्ने कारोबारको सीमासमेत बढाएको छ । एजेन्ट वा सबएजेन्टमार्फत प्रतिदिन अधिकतम रू.२५ हजारसम्मको भुक्तानी तथा जम्मा गर्न सकिनेछ । साथै, मासिक रूपमा अधिकतम रू. १ लाखसम्मको कारोबार गर्न पाइन्छ ।

यसअघि यस्तो कारोबारको सीमा मासिक रू. ५० हजार थियो । तर, ग्राहकले माग गरेको अवस्थामा उक्त स्रोतमार्फत प्रतिमहीना रू. २५ हजारभन्दा बढी नहुने गरी प्रतिदिन रू. ५ हजारसम्म नगद भुक्तानी गर्न सकिने व्यवस्था थियो ।

यसबाहेक बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा, एक वालेटबाट अर्को वालेटमा गर्ने कारोबारको सीमा बढाएर प्रतिकारोबार रू. २५ हजार पुर्‍याइएको छ । यसअघि उक्त शीर्षकमा प्रतिकारोबारको सीमा तोकिएको थिएन ।  यस्तो कारोबार मासिक रूपमा अधिकतम ५ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यसअघि मासिक रूपमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइँदैनथ्यो । तर, वालेटमा अधिकतम रू. २५ हजारभन्दा बढी मौज्दात ओभरनाइट राख्न नपाइने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार वालेटबाट बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन ।

यसैगरी इन्टरनेट बैंकिङका माध्यमबाट भुक्तानी (मर्चेन्ट पेमेन्ट) गर्दा प्रतिदिन अधिकतम रू. १० लाखसम्म कारोबार गर्न पाइनेछ । मासिक रूपमा अधिकतम रू. ३० लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्न पाइने छैन । इन्टरनेट बैंकिङका माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम रू. १० लाखसम्मको कारोबार गर्न पाइनेछ । यसको मासिक अधिकतम सीमा रू. ५० लाख बनाइएको छ । यसअघि यसरी ट्रान्सफर गर्दा १ पटकमा १ लाख र मासिक १० लाखसम्मको सीमा थियो ।

बैंकमा ग्राहकको भीडभाड नहोस् भनेर विद्युतीय कारोबारको सीमा बढाएको केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

‘पछिल्लो समय यस्तो विद्युतीय कारोबार गर्ने ग्राहकको संख्या र माग बढ्न थालेकाले सीमा बढाएका हौं । अब थोरै रकमले कारोबार गर्न सम्भव नभएकाले विद्युतीय कारोबारको सीमा बढाउन जरुरी थियो,’ उनले भने, ‘राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गरेको छ ।’ सरकारले सन २०२० सम्म डिजिटल नेपाल बनाउने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्त गर्न पनि यसको सीमा बढाउन जरुरी भएको उनले औंल्याए ।

कोरोनाको सन्त्रास रहेको अवस्थामा डिजिटल कारोबार निःशुल्क बनाउनुका साथै कारोबार रकमको सीमा बढाउँदा थप सहज हुने बैंकरहरू बताउँछन् । साथै केन्द्रीय बैंकले आइतवार सूचना जारी गर्दै तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत रू.२ लाखभन्दा माथिको रकम कारोबार गर्दा पनि शुल्क लाग्ने छैन । यस्तो कारोबारमा रकमको परिमाण अनुसार रू. १०, रू. २०, रू. ३० सेवा शुल्क लिने गरिएको थियो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक नेपालका अनुसार अहिलेको संक्रमणकालीन अवस्थालाई ध्यान दिँदै आरटीजीएस प्रणाली निःशुल्क गरिएको हो । नेपालका अनुसार परिस्थिति सहज नभएसम्मलाई यस्तो कारोबार निःशुल्क गरिएको हो ।

सुरक्षा सतर्कता अपनाउन निर्देशन
नेपाल राष्ट्र बैंकले कर्मचारीहरूको व्यवस्थापन तथा सुरक्षाकमा विशेष ध्यान दिन पनि निर्देशन दिएको छ । बैंक सञ्चालन गर्दा कर्मचारीहरूमा हुन सक्ने संक्रमणबारे सावधानी अपनाउन केन्द्रीय बैकले अनुरोध गरेको छ । बैंक तथा वित्तीय संस्थालाई सकेसम्म कम कर्मचारीबाट सेवा दिन अनुरोध गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । यसका लागि बैंकले रिमोट एक्सेस, घरबाटै काम गर्न दिने तथा सिफ्ट मिलाएर कारोबार संचालन गर्न सक्ने आदि विकल्प अपनाउन भनिएको भनाइ छ । ‘बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई कम गर्न सावधानी तथा सुरक्षाका सबै उपायहरू अपनाउन भनेका छौं,’ उनले भने । नेपाल राजपत्रमा उल्लेख भए अनुसार आवश्यक सेवाभित्र पर्ने भएकाले बैंकहरू बन्द गर्न नहुने उनको तर्क छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *