फलफूल तथा तरकारीमा बेथिती: बिचौलियाले नै कमाउँछन् ७ करोड

Sharing is caring!

जेठ २५, २०७५ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरूको सूची तयार भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरूको सूचि तयार पारेको हो ।
मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई निर्देशन दिएका थिए । मन्त्री खनालको निर्देशनपछि समितिले आफूसँग भाडा सम्झौता गरेर सटर चर्को मूल्यमा अरुलाई नै भाडामा लगाउने बिचौलियाको सूचि तयार गरेको हो । कृषकबाट सस्तो मूल्यमा तरकारी खरिद गरी उपभोक्तालाई चर्को मूल्यमा बेच्न भूमिका खेल्ने बिचौलियाको नम्बर निकै ठूलो रहेको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । उनले सञ्चालक समितिको बैठक बसेर कारबाहीको निर्णय गर्ने जानकारी दिए ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ३ सय ८७ वटा सटर छन् । समितिले ती सटरमा क्षेत्र अनुसार ५ देखि ८ हजार भाडा लिने गरेको छ । तर, समितिसँग यति सस्तोमा भाडा सम्झौता गरेका बिचौलियाहरूले ४० गुणा बढी अर्थात २ लाखसम्म भाडा असुल्ने गरेको मन्त्री खनालले सोमबार गरेको अनुगमनका क्रममा खुलेको थियो । समितिले मासिक २७ लाख भाडा पाउने सटर बिचौलियाहरूले मासिक ७ करोड रुपैयाँभन्दा बढी उठाएर रजाईं गरेको पाइएको छ ।
सटर भाडा ४० गुणा महँगो भएकै कारण तरकारीको भाउ महँगो भएको र बिनालगानी बिचौलियाहरू मोटाएको सरकारको निष्कर्ष छ । समितिको नियमावलीअनुसार समितिसँग भाडा सम्झौता गरेकाबाहेकले कालीमाटी तरकारी बजारमा व्यापार गर्न पाउँदैनन् । नियमावलीको व्यवस्था र मन्त्री खनालको साथका कारण अब बजारलाई बिचौलियामुक्त बनाइने समितिका प्रवक्ता श्रेष्ठले प्रतिवद्धता जनाए ।
मन्त्री खनालले कालीमाटी तरकारी बजारलाई बिचौलियामुक्त बनाउने आफ्नो निर्देशन कार्यान्वयनका लागि समितिको सञ्चालक समितिको अध्यक्ष फेरेका छन् । उनले काशीराज दाहालको स्थानमा मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीलाई अध्यक्ष नियुक्त गरेका हुन् । ११ सदस्यीय सञ्चालक समितिको बैठक बिहीबार बस्ने तयारी गरिएको समितिले बताएको छ । मन्त्री खनालले बिचौलियाहरूसँगको भाडा सम्झौता रद्द गर्न र बजारका सटर गोलाप्रथा गरेर वास्तविक कृषकहरूलाई दिन निर्देशन दिएको अवस्थामा सञ्चालक समितिको बैठक बस्न लागेको हो । तरकारीमा अहिले कृषकले मूल्य नपाउने, उपभोक्ताले चर्को रकम तिर्नुपर्ने र बीचमा बिचौलियाले रजाईं गर्ने अवस्था विद्यमान छ ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *