पत्नी काठमाडौँ नआएको रिसमा दुई छोराको हत्या

Sharing is caring!

वैशाख १७, २०७५ । दुई जना झट्केला छोराको हत्या अभियोगमा बाबु पक्राउ परेका छन् । काठमाडौँको शान्तिनगरस्थित भवानी सापकोटाको घरमा बस्दै आएका २४ वर्षीय दिलिप यादवलाई दुईजना झट्केला छोराको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पत्नीको रिसले दिलिपले गत वैशाख ९ गते घाँटी कसेर झट्केला छोराहरु ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या गरेको दिलिपले स्विकारेका छन्  ।

श्यामसुन्दर सरदारकी पत्नी सम्झना सुन्दासलाई उनले एक वर्षअघि आफ्नी पत्नी बनाएका थिए । त्यसक्रममा उनले श्यामसुन्दरतर्फका दुई छोरालाई पनि ल्याएका थिए ।

तर उनले झट्केला छोराहरुमाथि कुटपिट गर्न थालेपछि सम्झनाले त्यसो नगर्न बताउँदै आएकी थिइन् । यसबीचमा सम्झना अलग्गै बस्न थालेकी थिइन् । कामको खोजीमा सम्झना बिराटनगर गएपछि उनले पटक पटक काठमाडौँ आउन भनेका थिए । तर उनी काठमाडौँ नआएको रिसमा दुवै झट्केला छोराको घाँटी कसेर हत्या गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

एक महिना अगाडी सम्झनालाई पटक पटक काठमाडौँ आउन भनेपछि उनी मानेकी थिइनन् । सम्झनाले काठमाडौँ आउन नमानेपछि दिलिपले छोराहरुको ज्यान लिने धम्की दिँदै आएको कुरा पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अपराध महाशाखाको दुई झट्केला छोराको हत्या अभियोगमा पक्राउ परेका दिलिपलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय वृत्त बानेश्वर पठाइएको जानकारी दिएको छ ।  यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *