नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

Sharing is caring!

असोज २१, २०७५ । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो।

यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ।

उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन्। यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ। त्यसपछि सुर्तीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ।

सुर्ती खाइसकेपछि ‘इकोलाई’ ब्याक्टेरियालाई चुरोटको फिल्टर कुहाउन पनि प्रयोग गरियो। यसरी प्रयोग गर्दा इकोलाई ब्याक्टेरियाले पृथ्वीको माटोमा असर गर्ने फिल्टरभित्रको पदार्थलाई आफ्नो खानाका रूपमा प्रयोग गर्छ। तर फिल्टर आफैंमा सडेर भने जाँदैन। ‘फिल्टर नकुहिए पनि यसभित्र रहेको पदार्थलाई ब्याक्टेरियाले खाएपछि यसले पृथ्वीमा कुनै असर गर्दैन’, उनले भने।

निकोटिनलाई ब्याक्टेरियाले खाएर बनेको मललाई कृषि उत्पादनमा समेत प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ। विभिन्न अध्ययनका अनुसार सामान्यतया माटोमा फ्याँकिएको चुरोटको ठुटा पूर्ण रूपमा कुहिन १० देखि १२ वर्षसम्म लाग्छ। यो प्रविधिबाट अधिकतम एक साताभित्रमा कुहाउन सकिने उनीहरूको दाबी छ। यही अवधारणा प्रस्तुत गरेबापत उनीहरूले गत वर्ष काठमाडौं विश्वविद्यालयमा आयोजित जेनेटिक इन्जिनियरिङसम्बन्धी सम्मेलनमा दोस्रो स्थानसमेत हासिल गरेका थिए।

सान कलेजका सुपरभाइजर डा. सविन बसीले विद्यार्थीले पत्ता लगाएको प्रविधि नेपालका लागि नितान्त नौलो भएको बताए। ‘हेर्दा यो सामान्य लाग्न सक्छ। तर चुरोटको ठुटाले हाम्रो समाजमा कति असर पारिरहेको छ भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं’, बसीले भने, ‘यो सानो स्केलको अनुसन्धान हो। यसलाई पर्याप्त लगानी गरेर थप अनुसन्धान गर्ने हो भने सबैलाई फलदायी हुन्छ।’

यस्ता विद्यार्थीलाई प्रोत्साहन गर्न सकियो भने नेपालले पनि अनुसन्धानमा फड्को मार्न सक्ने कलेजका जैविक प्रविधि कार्यक्रम संयोजक प्रा.डा. राजाराम प्रधानांगले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *