निर्मला हत्याकाण्डको सूक्ष्म अध्ययन गरिरहेका छौं”

Sharing is caring!

पुस १०, २०७५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध अनुसन्धानलगायत नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धिमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको बताउनुभएको छ।प्रहरी प्रधान कार्यालयद्वारा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसामयिक विषयमाथि प्रकाश पार्दै शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ भएका प्रगतिबारे जानकारी दिनुभयो।

नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कारबाही तथा पुरस्कार, नीतिगत कार्यहरू, संरचनागत कार्यहरू, बजेट तथा आर्थिक नियमितता, आर्थिक नियमितता तथा खरिद बन्दोबस्ती, भौतिक पूर्वाधार, द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय समझदारी, अन्तर्राष्ट्रिय उपलब्धिबारे भएका पछिल्लो विवरण उहाँले प्रस्तुत गर्नुभयो।
हालै कार्यान्वयनमा ल्याइएको समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत भएका कार्यक्रम सञ्चालन, प्रहरी कारबाही, साझेदारिता, सामुदायिक गतिविधि, मुद्दा दर्ता संख्याबारे तथ्यगत प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक खनालले आर्थिक वर्ष २०७४÷०७५ मा जबरजस्ती करणीमा पीडित र पीडकको नाताबारे विश्लेषणात्मक विवरण प्रस्तुत गर्नुभयो।
उक्त अवसरमा निर्मला हत्याकाण्ड र प्रहरी अनुसन्धानसम्बन्धी सञ्चारकर्मीहरूद्वारा राखिएको जिज्ञासामा महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको इमानदार प्रयास रहेको बताउनुभयो।

अनुसन्धानमा विज्ञ समूह प्रयोग गर्नेलगायत सबै प्रयास जारी रहेको चर्चा गर्दै छिटो र सही अनुसन्धान होस् भन्ने चाहना पूरा गर्न सबैको सहयोग आवश्यक रहेकोतर्फ उहाँले जोड दिनुभयो।

नेपाल प्रहरीमा सम्पूर्ण साधान स्रोत आवश्यकताको आधारमा उपयोग हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले संगठनको नीतिअनुरूप संगठन र नागरिकको हितमा मात्र उच्चतम प्रयोग हुँदै आएको उल्लेख गर्नुभयो। कतिपय नियमसंगत कार्यको गतिविधि बाहिर आएका अनुसन्धानमा असर पर्ने भएकाले त्यस्ता समाचार सम्प्रेषणमा सजग भइदिन उहाँले आग्रहसमेत गर्नुभयो।

संघीय प्रहरी ऐन सम्बन्धमा राखिएको जिज्ञासाबारे प्रहरी महानिरीक्षक खनालले प्रहरीले विगत ३ वर्षदेखि नै सहभागी हुँदै तहगतरूपमा समिति बनाइ त्यसैको आधारमा सरकारमा सुझाव सिफारिस गरिएको बताउनुभयो। संगठनलाई अझै गतिशील बनाउन हरेक काम परिस्कृत र परिमार्जन भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो।
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीमा प्रविधिको विकास गर्न विशेष ध्यान दिई हालै डाटा सेन्टर, साइबर ब्युरो स्थापनाको साथै सीसीटीभी आदिको प्रयोगमा जोड दिइएको बताउनुभयो। प्रहरी जनशक्ति र युनिट थप गर्ने जनस्तरको मागतर्फ नेपाल प्रहरीले ध्यान दिई प्रक्रिया अगाडि बढाएको समेत उहाँले उल्लेख गर्नुभयो।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *