नक्कली बेलायती पासपोर्टमा नेपाल छिरेका ६ पाकिस्तानी पक्राउ

Sharing is caring!

असार ५, २०७५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बेलायती पासपोर्ट बोकेर नेपाल छिरेका ६ पाकिस्तानीलाई पक्राउ गरेको छ । शुक्रबार नेपाल छिरेका ६ जनामध्ये ५ जनासँग बेलायतको नक्कली पासपोर्ट रहेको सूचना पाएपछि अध्यागमनले पछ्याएको थियो ।

४ जनालाई आइतबार राति ठमेलको एक होटल र २ जनालाई सोमबार बिहान कतार जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई विमानस्थल अध्यागमनले अध्यागमन विभाग पठाइसकेको छ। पाकिस्तानबाट संयुक्त अरब इमिरेट्सको सारजाहँ हुँदै काठमाडौं आएका उनीहरूलाई अध्यागमनले सहजै प्रवेशाज्ञा दिएको थियो। अध्यागमनको कमजोर प्रविधि र थोरै कर्मचारीको फाइदा उठाउँदै ती पाकिस्तानी सहजै काठमाडौं छिरेका थिए।
स्रोतका अनुसार पक्राउ परेका ६ मध्ये ५ जनासँग रहेको बेलायती पासपोर्टको वैधता जाँच्न अध्यागमनले काठमाडौंस्थित बेलायती दूतावासको सहयोग लिएको थियो। दूतावासका कर्मचारीले ती पासपोर्ट नक्कली रहेको पुष्टि गरेका थिए।
पक्राउ परेकामा घौरी नुजात नाज, इल्ले फिजा, इराम शाहजादा, सोहेल मुहम्मद, ईली जाका र दिन मजहर फरिद उद छन्। स्रोतका अनुसार पाकिस्तानी पासपोर्टवाहक मजहर फरिद उद मानव तस्करी समूहको नाइके हुन सक्ने विभागको आशंका छ।
पक्राउ परेकाहरू पाकिस्तानबाट नेपाल आएर युरोपेली देश जान खोजेको आशंका गरिएको छ। उनीहरूमध्ये एकले आफू नेपालबाट कतार हुँदै अजरबैजान जान लागेको बताएका छन् भने अन्यले गन्तव्य खुलाएका छैनन्।
उनीहरूले बेलायती नक्कली पासपोर्ट कसरी हात पारे र नेपालमा उनीहरूको सम्पर्क व्यक्ति को हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।
त्यसो त प्रविधि अभावमा विमानस्थल अध्यागमनका अधिकृतले नक्कली पासपोर्टमा छाप हानेको यो पहिलो घटना होइन। जेठको अन्तिम साता पनि नक्कली इजरायली राहदानी वाहक इरानी दम्पती गेलारेह नाजारानिया र आयुब हेइदारीलाई आगमन र प्रस्थान अनुमति दिइएको थियो।
टर्कीबाट काठमाडौं आएका यी दुई भारतको दिल्ली विमानस्थल हुँदै इटली जान खोजेका थिए। नक्कली पासपोर्टमा भिसा लगाएर पाँच दिन काठमाडौं बसेका उनीहरू जेठ १८ गते नयाँदिल्ली पुगेका थिए।
दिल्ली विमानस्थलमा रहेको अध्यागमनले उनीहरूको पासपोर्ट नक्कली रहेको पत्ता लगाएपछि उनीहरूलाई नेपाल नै फर्काइदिएको थियो।
एक साताको अन्तरमा भएका यी दुई घटनाले नक्कली पासपोर्टका आधारमा नेपाल छिर्ने र यहाँबाट युरोपेली मुलुक प्रवेश गर्ने प्रयास भइरहेको देखाउँछ। अध्यागमन विभागका एक कर्मचारीका अनुसार अध्यागमनको कमजोर प्रविधिको फाइदा उठाउँदै मानव तस्करहरूले नेपाललाई ट्रान्जिट बनाउन खोजेको देखिन्छ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *