धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?

Sharing is caring!

भदौ १०, २०८० । धरानमा धार्मिक सद्भाव भड्कने त्रासबिच यतिखेर त्यहाँको स्थानीय प्रशासनले कफ्र्यु (निषेधाज्ञा) आदेश जारी गरेको छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।

सत्तारूढ दल घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा देखिएको द्वन्द्वको विषयलाई लिएर शनिबार एक प्रेस विज्ञप्ति नै जारी गरे । उनले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पु¥याउन नमिल्ने बताएका छन् । केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् ।

धरानको विषयलाई अत्यन्त संवेदनशीलरूपमा बुझेका सभापति देउवाले धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्कदा उत्पन्न हुने परिस्थितिलाई मूल्यांकन गर्दै धर्म, संस्कृतिक पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पु¥याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् । देउवाले किन पनि यो भनिरहेका छन् भने भोलि यो खालको सद्भाव भड्कदै गएमा देशमा अशान्तिको रूप लिने र धार्मिकसँगै जातीय र सामाजिक द्वन्द्व हुन सक्ने आँकलन समेत गरेको देखिन्छ ।

धर्म र संस्कृति मान्न पाउने स्वतन्त्रता राज्यका हरेक नागरिकलाई छ । तर, धार्मिक स्वतन्त्रता र संस्कृतिक स्वतन्त्रताको नाममा कसैको धर्म, जात, सम्प्रदायमाथि सद्भाव खलबलने द्वन्द्व निम्त्याउने छुट कसैलाई पनि छैन । आज धरानमा देखिएको द्वन्द्व भोलिका दिनमा जनकपुरमा, गढीमालिकामा, पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म भुसको आगोसरि नफैलिएला भन्न सकिन्न । केही राजनीतिक दलले यो विषयलाई नदेख्या जस्तो गरिरहेका छन् । राजनीतिक दलले यो पनि बुझ्न जरुरी छ कि यो विषयले विकराल रूप लिएमा देश गृहयुद्धमा धकेलिन सक्ने भय छ ।

अहिले जसरी सामाजिक सद्भावअनुसार विभिन्न जात, धर्म र संस्कृति मान्ने नागरिक मिलेर बसेका छन् भोलिको दिनमा सद्भाव भड्क्यो भने आगोको रूप लिने निश्चित छ । धार्मिक द्वन्द्वले निम्त्याउने खतरा राजनीतिक दलले नदेखे झैं गरे भोलि त्यही द्वन्द्वबाट बल्ने आगोको लप्कामा जलेर खरानी हुने कि अहिले शान्तिपूर्णरूपमा व्यवस्थापन गर्ने बल राजनीतिक दलकै हातमा छ । नागरिक समाज, धार्मिक संघसंस्थासँग मिलेर सरकारले पहलकदमी नचाले भोलि खरानी हुने दिन टाढा छैन ।

कांग्रेस सभापति देउवाले नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने दाबी गरेका छन् । उनको भनाइलाई आधार मान्दा कांग्रेस सामाजिक सद्भाव नखलबलियोस् भन्नेमा प्रस्ट छ तर पहलकदमी लिने कुरामा पनि एक कदम अगाडि बढ्नुपर्ने देखिन्छ । राजनीतिक अस्थिरता निम्त्याउने र धमिलो पानीमा खेल्न यस्तो खालको गतिविधिलाई ढाडस दिँदै जाने हो भने आफैं भस्म हुने उपाय मात्रै हो । सरकारले जसरी यो विषयलाई सेफल्यान्डिङ गराउनुपर्ने हो त्यो गरिएको देखिँदैन ।

विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन् । धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन् । छिमेकी राष्ट्र भारतमा हिन्दु र मुस्लिमबिच पटकपटक धार्मिक दंगा भइसकेको छ । हिन्दु अतिवादीले क्रिश्चियनमाथि र शिखमाथि पनि आक्रमण गरेका छन् । कस्मिरमा भएको हिन्दु–मुस्लिम दंगामा हजारौं मानिस मारिएका थिए । त्यहाँको दंगा अझै सेलाएको छैन । श्रीलंकामा बुद्धिष्ट र हिन्दुबिच बेलाबेलामा द्वन्द्व भइरहन्छ ।

इन्डानेसियाको मलकु आइल्यान्डमा सन् १९९९ मा भएको मुस्लिम–क्रिश्चियन दंगामा ६ हजारभन्दा बढी मानिस मारिएका थिए । बोस्निया हर्ज गोभिना, सुडान तथा अन्य थुपै्र देशमा धर्मका कारण द्वन्द्व भड्किएको छ । पूर्वी टिमोरमा क्रिश्चियन र मुस्लिमबिच युद्ध जारी नै छ । विश्वका यी धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धार्मिक सद्भाव खलबलाउने काम रोक्न राजनीतिक दल, नागरिक समाज, स्थानीय सामाजिक संस्था एक जुट हुन जरुरी छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *