देश लिकभन्दा बाहिर गयो : धवलशमशेर राणा

Sharing is caring!

असार ३०, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौं आयोजित कार्यक्र्ममा बोल्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकटभविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालत त्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामा जानुपरिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’

उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनि बताए । ‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्नेवित्तिकै हाम्रा देशका बच्चाहरु कुन देशमा गएर के नोकरी गर्नेभन्दा अर्को भविष्य छैन । यो परिस्थितिमा आज देश छ,’– उनले भने । देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ ।

२०६२-६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए । ‘देश हिजो यहाँ थियो, आज कहाँ गइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२-६३ को जनआन्दोलन पछि जुन गाडीमा नेपाली जनता चढे, त्यो गाडि गन्तव्यमा पुग्नुभन्दा पहिल्यै नै विग्रिसकेको छ,’– उनले भने ।

संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए ।
‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमा विश्वास छैन । ड्राईभरले कहाँ पुर्याउला ? प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपाली जनताले त्यो बिग्रेको थोत्रो बस, काम नलाग्ने बस परिवर्तन गर्ने कि नगर्ने ? प्रश्न गर्दै उनले भने,‘प्रश्न चाहिँ त्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आश गर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाट बाहिर निस्कने कि ननिस्कने ?’

अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गा जमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।

हरेक पाँच वर्षमा एउटा राष्ट्रपति निवर्तमान हुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अब त्यो व्ययभार धान्न नसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ ।

संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनस्र्थापना भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *