तेस्रो नेपाल पूर्वाधार सम्मेलन शुरू: लगानीकर्तालाई नेपालमा लगानी गर्न सरकारको आग्रह

Sharing is caring!

भदौ २६, २०७६ । नेपालको पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी जुटाउन तेस्रो पूर्वाधार सम्मेलन बुधवार काठमाडौंमा शुरू भएको छ । नेपाल सरकार तथा नेपाल उद्योग परिसंघले संयुक्त आयोजना गरेको दुईदिने यस सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् ।

उद्घाटन सत्रमा उपराष्ट्रपति पुनले लगानीकर्ताका लागि नेपाल उर्वर भूमि रहेको बताउँदै वैदेशिक पूँजी र प्रविधि भित्र्याउन सरकार तत्पर रहेको जनाए । पुनले पूर्वाधार विकास सरकारको पहिलो शर्त रहेको तथा वैदेशिक लगानी भित्र्याउन सरकारले बहुपक्षीय तथा दुई पक्षीय प्रयासमार्फत लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम अघि सारेको समेत जानकारी दिए ।

गतवर्ष आयोजित लगानी सम्मेलनको ‘कन्टिन्युटी’ को रूपमा लिइएको यस सम्मेलनमा सरकारी अधिकारीहरूले लगानीकर्ताहरूलाई नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताउँदै लगानी गर्न आग्रह गरे । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा भएको वैदेशिक लगानीमा कम्तीमा पनि २५ प्रतिशत लाभांश प्राप्त भइरहेको बताए । लगानीकर्ताहरूलाई आश्वस्त पार्दै उनले सरकारले नेपालको क्रेडिट रेटिङको काम शुरू गरेको समेत जानकारी दिए ।

संस्थागत, कानूनी र नियामकीय पुनःसंरचनाको पहल पनि थालिसकेको बताउँदै खतिवडाले जोखिम विविधीकरणका लागि समेत सरकारले निजीक्षेत्रको सहयोग खोजेको र कतिपय पूर्वाधार परियोजनालाई व्यावसायिक मोडेलमा पनि लैजान सकिने भएकाले यस्ता परियोजनामा सरकारले लगानी गरिरहनु नपर्ने बताए ।

त्यस्तै, पर्यटन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको उल्लेख गरे । उनले नेपालमा हवाई यात्रुहरूको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै निकट भविष्यमै दुईओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ बिजनेशलाई सुधार गर्न नीतिगत र प्रक्रियागत सुधारमा लागिएको उनले बताए ।

उद्घाटन सत्रमा एशियाली विकास बैंकका महानिर्देशक वुचोङ उमले आर्थिक र सामाजिक विकासमा सरकारको प्रतिबद्धताले महत्वपूर्ण भूमिका खेल्ने बताए । एडीबीले यातायात, ऊर्जा, सरसफाइ, शिक्षा तथा स्वास्थ्यलाई रणनीतिक महŒवको पूर्वाधारका रूपमा लिएको भन्दै उनले यस्ता क्षेत्रमा सहयोग बढाउँदै जाने जानकारी दिए । त्यस्तै, विश्व बैंकका उपाध्यक्ष चिङतोङ हुआले पूर्वाधारमा गरिएको लगानी नाफामूलक हुने बताए ।

परिसंघका अध्यक्ष सतीशकुमार मोरले पूर्वाधारलाई एउटा क्षेत्रका रूपमा मात्र नलिई देश विकासको अत्यावश्यक औजारका रूपमा लिइनुपर्ने र निजीक्षेत्र सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले सरकारले निजीक्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बताउँदै मुलुकका सातओटै प्रदेशलाई विशिष्टीकृत पहिचान बनाएर अघि बढ्न सुझाए ।

उद्घाटन सत्रमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान सेउङ सूले यातायात, पर्यटन, ग्रामीण कनेक्टिभिटी जस्ता पूर्वाधारले सामाजिक विकास मात्र नभई मानव संसाधनको समेत विकास हुने बताए । खानेपानी, सरसफाइजस्ता क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

बुधवार शुरू भएको दुईदिने सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, दातृ निकायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढीको सहभागिता छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *