सुन तस्करसँग कनेक्सन देखिएपछि महानिर्देशक हटाइए

Sharing is caring!

भदौ ८, २०८० । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ ।

महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थाल्नुभएको हो । उहाँलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।

निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उहाँको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो । गृहमा सरुवा भएलगत्तै उहाँले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल हुनुभएको थियो । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडांै, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ उहाँ पोखरा महानगरपालिकामा समेत दुईपटक प्रमुख प्रशासकीय अधिकृत भएर बस्नुभएको थियो । अत्यन्तै आकर्षक मानिएको ठुला करदाता कार्यालयमा समेत बसिसकेका अधिकारी अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पनि बस्नुभएको थियो ।

अधिकारी र दावा छिरिङबीच वीच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरू भएको तथ्यहरू सार्वजनिक भइसकेका छन् । सोही तथ्यका आधारमा सीआईबीले अधिकारीमाथि छानबिन गरिरहेको बताइएको छ । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रूपमा नै भएको देखिएको छ ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो व्यवसाय सञ्चालन गर्ने त्यसो गर्दा ठुलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरू बरामद भएको थियो । स्रोतका अनुसार सीआईबीसँग फेला परेको प्रमाणमा महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेको समेत भेटिएको थियो । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *