डा. केसीद्वारा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार

Sharing is caring!

साउन २७, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधान एवं सुधारका लागि गरेको प्रस्ताव डा. गोविन्द केसीले अस्वीकार गरेका छन् ।  डा. केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भएको सहमति समयमै कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई शनिबार बालुवाटारमा भएको भेटमा आग्रह गरेका गरेका थिए ।
सरकारसँग भएको सहमतिबाहेक चिकित्सा शिक्षाको सुधार र विकासका लागि अरू केही गर्नुपर्ने भए त्यस्तो विषय सरकारलाई दिन प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

१५औं अनशनपछि आफ्ना माग पूरा गर्न पहलकदमी लिएकोमा धन्यबाद दिन बालुवाटार पुगेका डा. केसीलाई प्रधानमन्त्रीले सरकारले सहमति पालनामा हेलचेक्र्याइँ नगर्ने बताएका थिए ।
‘जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै बिमति नै छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाऔं र त्यसको कमान्ड तपाईं सम्हाल्नूस् ।’

दुर्गमका जनताको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ ? डन्डा चलाउने संयन्त्रको नेतृत्व गर्दै अघि बढ्न प्रधानमन्त्री ओलीले केसीलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई डा. केसीले अस्वीकार गर्दै त्यस्तो नेतृत्व योग्य चिकित्सकलाई दिन सुझाव दिए ।
प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरू रहेको केसीले प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी डा. ओमप्रकाश अर्यालले बताए ।
‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य व्यक्ति धेरै हुनुहुन्छ, उहाँहरूलाई नै नेतृत्व दिनुस्,’ केसीको भनाइ उद्धृत गर्दै अर्यालले भने ।
कुन कलेजलाई सम्बन्धन दिने र कुनलाई नदिने भन्ने विषयमा आफ्नो कुनै स्वार्थ नभएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘तपाईंहरूलाई के भ्रम नहोस् भने फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन, चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिबद्ध छु ।’
प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्नसमेत केसीलाई आग्रह गरे । यो खबर आजको राजधानीमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *