चिनियाँ विदेशमन्त्री आज आउँदै विकास साझेदारीमा छलफल हुने

Sharing is caring!

भदौ २२, २०७६ । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ ।
“हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ”, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्नुहुने सहसचिव कालीप्रसाद पोखरेलले भन्नुभयोे, “नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ । ” उहाँका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने उहाँले बताउनुभयो ।
मन्त्रालयको तयारी शनिबार अबेरसम्म पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चलेको उहाँका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिनुभयो ।
नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले चीनको उच्च राजनीतिक नेतृत्वको भ्रमणको प्रतीक्षा गरिरहेको बताउनुभयो ।
“चिनियाँ अधिकारीहरूलाई हामीले के भनेका छौँ भने नेपाल भ्रमण गर्नका लागि यो उपयुक्त अवसर हो”, मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले लामो सङ्क्रमणकाल टुङ्गो लगाएर देशमा दह्रो राजनीतिक स्थायित्व हासिल गरेको र आर्थिक विकासमा अघि बढेका बेला चीनको उच्च नेतृत्वको भ्रमण हुन सके त्यो नेपालका लागि निकै उत्साहको विषय हुने बताउनुभयो । चीनका अधिकारीहरूले यस विषयमा आफूहरू जानकार रहेको र उपयुक्त समयमा चीनको उच्च राजनीतिक नेतृत्वको भ्रमण हुने आश्वासन दिएको तर समयसीमा तय नभएको जानकारी उहाँले दिनुभयो ।
“परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा आर्थिक साझेदारी र विकास साझेदारी, रेलमार्गका विषयमा हामी छलफल गर्छौं”, उहाँले भन्नुभयो । यसबाहेक दुईपक्षीय हित, अन्तर्राष्ट्रिय चासोका विषयमा समेत दुईपक्षीय वार्तामा छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । “विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विकास साझेदार भएको मुलुकबाट नेपालले के फाइदा लिन सक्छ भन्ने विषयमा पनि हामीले सोच्नुपर्ने छ”, मन्त्री ज्ञवालीको भनाइ छ । यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *