कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै

Sharing is caring!

साउन १७, २०८० । कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलको साथबाट पुनः मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा गठबन्धन दलबाट थापा मुख्यमन्त्री बनेका हुन् । कोशी प्रदेशमा पछिल्लोपटक गत २१ असारमा सरकार गठन भएको थियो । त्यसबेला सभामुख रहेका गौतमको हस्ताक्षरसहित थापा मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो ।

कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपासहितको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २१ असारमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाका ४६ सांसद थिए, जसमा सभामुख गौतमको हस्ताक्षरसहित ४७ सदस्य बनाएर मुख्यमन्त्रीमा पेस गरेसँगै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, नेकपा एमालेले २२ असारमा असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा ११ साउनमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको थियो ।

१२ साउनमा प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए । सर्वोच्च अदालतले ११ गते दिएको आदेशपछि मंगलबार अपराह्न ५ः०० बजेम्म संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोहीअनुसार सभामुख गौतमलाई राजीनामा गराएर बहुमत सदस्यको हस्ताक्षरमा थापा मुख्यमन्त्री बनेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्यको आवश्यकता पर्छ । जसअनुसार कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । उता, विपक्षीमा नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद रहेका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *