कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

Sharing is caring!

भदौ ६, २०८० । प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए ।

मुख्यमन्त्री उद्धव थापाले थापाले सभामुख इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएका थिए ।

कानुनको धज्जी उडाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यले बैठक बहिष्कार गरेका हुन् । सभाध्यक्ष मन्सुरीले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेर विरोध जनाए ।

सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै प्रदेशसभा सदस्यहरु बैठक कक्ष छाडेर बाहिरिएका हुन् । त्यसपछि सभामुख मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभाध्यक्षबाट गैरसंवैधानिक र गैरसंसदीय अभ्यास भएको बताए । एमालेका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले सभाको अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिएर असंवैधानिक काम गरेको बताए ।

बुधबारको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची थियो ।

मुख्यमन्त्री थापाले प्रदेशमा सहमति, सहकार्य, समझदारी र सरसल्लाहबाट नै अघि बढ्ने बताए । पत्रकारसँग कुरा गर्दै उनले अब सहमतिबाटै प्रदेशसभा प्रारम्भ हुने उल्लेख गरे । सहमति र सहकार्यको विकल्प नरहेको भन्दै उनले सहमतिबाटै प्रदेशसभा बैठक सुरु गरेर बजेट ल्याइने बताए ।

उनले सहमति जुटाउन विपक्षीसँग वार्ताको प्रयास भइरहेको पनि बताए । प्रदेशसभामा देखिएको अन्योलताका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *