सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा मलाई आश्चर्य र दुःख लागेको छ: भीम रावल

Sharing is caring!

मंसिर ५, २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ, द्वन्द्वबाट पीडितहरुले संक्रमणकालिन न्याय पाउनेछन्, र त्यसपछि कसैलेपनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन भन्ने उद्देश्यबाट संविधान निर्माणको बखतमा हामीले यो आयोगको परिकल्पना गरेका थियौं । तर, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’

नेता रावलले यी दुई आयोगले सरकारले दिएको काम अहिलेसम्म पूरा नगरेकोमा आफूलाई आश्चर्य तुल्याएको सुनाए । उनले भने,‘आयोगलाई दिईएको काम अहिलेसम्म पूरा गरेन् । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होईन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’

मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै उनले भने,‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन । र, कसैले कानुन उल्लंघन गरे, संविधान उल्लंघन गरे भने यो त कानुनी शासन हो नि। कानुनबमोजिम सम्बन्धित समूह व्यक्ति जानुपर्छ। त्यो दिशातर्फ सरकार जानुपर्छ भन्ने मेरो आग्रह छ ।’

अहिलेपनि हामी द्वन्द्वमै छौं जस्तो गरेर कतिपयले गर्ने व्यवहारप्रति आफू सहमत नभएको रावलको भनाई छ । उनले थपे,‘फेरि नेपाल द्वन्द्वमै छ की भन्ने प्रकारको संकेत आउने, त्यो प्रकारको मान्छेमा भावना दिने कुनैपनि खालका काम सरकार, राजनीतिक दल र नागरिक समाज कसैलेपनि गर्नुहुन्न भन्ने मेरो आग्रह छ। किनभने अब हामी द्वन्द्वका ती घाउहरुलाई कोट्याउने, फेरि द्वन्द्वमा जाने, हाम्रो देशको अखण्डता कमजोर हुने, हामी बहुधार्मिक, बहुजाति, बहुसाँस्कृतिक, तराई, पहाड, हिमाल जहाँसुकै बसेपनि हामी नेपाली हौं । हाम्रो जुन पहिचान छ र हाम्रा जुन उद्देश्यहरु छन्, त्यो उद्देश्य कुनैपनि प्रकारले कमजोर नहोस् । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै नीति प्रष्ठिानका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिने सन्दर्भमा सरकारका कामकारबाहीहरु अपेक्षित मात्रामा किन भएन ? नीतिमा कहाँनिर कमजोरी भएको छ भनेर भनेको कुरा उल्लेख गर्दै रावलले भने,‘मेरो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री स्वयमले भनिसकेपछि म पनि सार्वजनिक रुपमा के भन्न चाहन्छु भने अब हामीले स्थायी कमिटिको बैठक बसेर गम्भिर रुपमा नीतिमा कहाँ त्रुटि भयो ? हाम्रा मन्त्रालयहरुमा हामीले गर्ने नियुक्तीहरु, हामीले गर्ने त्यहाँ जनशक्तिको विन्यासमा कहाँनिर कमजोरी भयो ? त्यसमा समिक्षा गर्नुपर्छ । नेपाली जनताले किन टिप्पणी गरिरहेका छन् ? ती टिप्पणीहरु हामीले सुन्नुपर्छ । र, आत्मसात गर्नुपर्छ । कमिकमजोरी हटाएर अब हामीले गति प्राप्त गर्नुपर्छ भन्ने जुन प्रधानमन्त्रीको भनाई आएको छ । म त्यसमा समर्थन र स्वागत गर्न चाहन्छु ।’

भोलि पार्टीको सचिवालय बैठक बस्ने जनाउँदै उक्त बैठकमा प्रदेश कमिटिलाई पूर्णता दिने काम हुने विश्वास दिलाए । उनले भने,‘केन्द्रिय कमिटीका सदस्यहरुको कार्यविभाजन र पोलिव्युरो गठनको लागि पनि गृहकार्य सुरु भैसकेको छ । यो काम अब छिटोभन्दा छिटो पूरा हुने प्रक्रियामा छ। यो प्रक्रिया पूरा गर्नको लागि कदापि ढिलो गर्नुहुँदैन् ।’

आफूहरुले दिगो शान्ति स्थापनाको लागि धेरै आरोह–अवरोह खेपेको पनि रावलले सुनाए । उनले भने,‘हामीले विस्तृत शान्ति सम्झौता पछिका दिनहरुमा नेपालको संविधान निर्माण गर्ने, दुई–दुई पटक नेपालको संविधान निर्माण गरेर संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउने, बिचमा सरकारहरु फेरबदल हुने अनेक पीडादायी क्षणहरु हामीले सामना गर्नु परेतापनि अन्ततः तीन तहमा सरकार निर्माण गरेर देशलाई निर्दिष्ट दिशातर्फ अभिमुख गराएका छौं ।’

फरक प्रसँगमा उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको बताउँदै हत्यामा संलग्न अपराधीलाई चाँडो भन्दा चाँडो कानुनी कठघरामा उभ्याउनुपर्ने बताए ।

उनले भने,‘यो निन्दनीय अपराधमा अपराध गर्नेहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । यसको लागि प्रभावकारी रुपमा सरकारले जे–जे काम गर्नुपर्ने हो त्यो सबै गर्नुपर्छ । हामी सुदुर पश्चिमका सम्पूर्ण सांसदहरुले प्रधानमन्त्रीलाई भेटेरै यो कुरा लिखित रुपमा पनि भनिसकेका छौं । सरकारको तर्फबाट छानबिनको लागि भैरहेको काम सफल होस् । र, निर्मला पन्तका बुवा–आमाले त्यो अनुशन्धान गर्ने काम छिटो होस् र अपराधी छिटोभन्दा छिटो कानुनको कठघरामा उभिने स्थिति बनोस भनेर आकांक्षा राखेको एकदम राम्रो छ।’

त्यस्तै उनले नागरिक समाज, पत्रकार, राजनीतिक दल र व्यक्तिहरु ज–जसलाई यस विषयमा कुनै सूचना वा जानकारी छ भने अपराधी पत्ता लगाउने काममा सहयोग गर्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *