गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

Sharing is caring!

असार २४, २०७५ ।  गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोधा अस्पतालमा आज आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको बताउनुुभयो ।

गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको प्रा डा हाडाको भनाइ छ । उहाँका अनुसार हाल करीब ४७ प्रतिशत महिलाको शल्यक्रियामार्फत प्रसूति गराउने गरिएको छ ।

झन्डै तीन दशकदेखि स्त्री तथा प्रसूति रोगको उपचारमा समर्पित प्रा डा हाडा पहिलेपहिले महिलामा अज्ञानताका कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज शिक्षित र सचेत भएका कारण यस्ता समस्या घट्दै गएको बताउनुहुन्छ ।

“महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्या कम गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *