कामीरिता शेर्पाको विश्व कीर्तिमान, २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

Sharing is caring!

जेठ ७, २०७६ । आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान ६:३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गर्नुभएको सगरमाथा आधारशिविरबाट सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । यसपटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गर्नुभएको हो ।

यो राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरु बताउँछन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएका कामिरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो ।

बौद्ध धर्मअनुसार एक महिना अघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *