काठमाडौं मल घोटाला काण्ड: ‘करोडौंको घोटाला हुँदापनि सरकार बेखवर बन्नु दुर्भाग्य’

Sharing is caring!

जेठ २, २०७६ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ ।

संघले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् ।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । उनले भनिन्,‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनकाअनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । उनले भनिन्,‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् ।

उनले अघि थपिन्,‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *