एमालेभित्रै संसद अवरोधको ‘फरकमत’

Sharing is caring!


भदौ ३, २०८० । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शनिबार एक कार्यक्रममा आफ्नो पार्टीले गरिरहेको संसद अवरोध नियमसंगत नभएको बताएका छन् । उनको यो भनाईपछि प्रतिपक्षी एमालेभित्रै संसद अवरोधप्रति फरकमत रहेको सतहमा आएको छ । आफ्नै पार्टीले गरिरहेको संसद अवरोधप्रति नेम्वाङ असन्तुष्ट देखिएका छन् । एमालेले संसद अवरोध जारी राखेका बेला आइतबारका लािग प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

धुलिखेलमा भएको संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले अहिले एमालेले गरेको संसद अवरोध ठीक कि बेठीक रु भन्ने प्रश्नमा उनले सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्ने बताए । बहुमत ल्याउनेले सरकार चलाउने भए पनि अल्पमतको प्रतिपक्षले प्रभावकारी ढंगले कुरा राखेपछि कुरा सन्नुपर्ने उनको भनाइ छ ।‘अहिले मेरो दल एमालेले संसद अवरोध गरेको छ । त्यसलाई मेरो दलले जस्टिफाई गर्नुपर्छ । फेरि भन्छु– अवरोध नियमसंगत हैन, अवरोध हुन्छ नै । तर, सम्बन्धित दलले जस्टिफाई गर्नुपर्छ,’ उनले भने ।

एमाले उपाध्यक्षको यो भनाइले सत्ता गठबन्धन भने संसद खुल्नेमा आशावादी देखिएको छ । ‘सकारात्मक कुरा छ । सुवासजीले संसद अवरोध कानुन र संविधानसम्मत छैन भन्नुभएको छ । एमालेले यति बुझेपछि सदन खुल्छ,’ कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘सबै अपजस एमालेले मात्र लिएर जनताको बीचमा थाम्न सक्ने अवस्था पनि छैन । भोलि सदन नखुल्दा ४६ सालदेखि २५८ दिन हुन्छ एमालेले सदन अवरोध गरेको ।’

तर एमाले प्रमुख सचेतक पदम गिरी प्रतिक्षीको माग तत्काल सुनुवाई गर्ने प्रचलनको विकास नभएको बताउँछन् । उपाध्यक्ष नेम्वाङको भनाइलाई पनि उनले प्रष्ट पारे । ‘दलहरुले संसद अवरोध किन गर्ने भन्ने जस्टिफाई गर्नुपर्छ भन्नुभएको छ । परिस्थिति किन भयो भन्ने प्रसंग पनि जोड्नुभएको छ । संसदीय अभ्यास भएको देशहरुमा लामो समय संसद अवरोध हुँदैन । प्रतिपक्षीले उठाएका मुद्दाहरु सरकारले तत्काल सुन्ने र सम्बोधान गर्ने हुन्छ । हाम्रोमा सरकारले सुन्ने परिस्थिति बन्दैन । प्रतिपक्षले सदन अवरोध गर्न हुँदैन र सरकारले विपक्षीको आवाज सुन्नुपर्छ भन्ने आशय व्यक्त गर्नुभएको हो,’ प्रमुख सचेतक गिरीले भने ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको छ । सत्तारुढ दलहरुले छानबिन समितिको विकल्पमा संसदीय समिति बनाउन सकिने, सीआईबीबी संलग्न गरेर संसद माताहतको समिति बनाउन सकिने विकल्प दिँदै आएका छन् । तर एमालेले ती प्रस्ताहरु नकार्दै आएको छ । उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको सरकारको ठम्याइ छ ।

सदन खुलाउने विषयमा एमालेसँग कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न माध्यमबाट कुरा गरिरहेका छन् । उपप्रधान तथा रक्षामन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमालेका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । उनले शनिबार प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबारबाट संसद्को अवरोध हट्ने बताएका छन् । शनिबार स्व रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरुलाई थाहा छँदैछ । शुक्रबार मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उनी आएको र उनीसँग कुरा भएको छ । शनिबार बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ आइतबार सदन खुल्छ,’ उनले भने । तर शनिबार अबेरसम्म दलहरूबीच संसद खुलाउनेबारे कुनै सहमति भने जुटिसकेको छैन । यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *