उपत्यकामा पुसदेखि वैज्ञानिक रुट, २ सय छोटा–लामा रुटलाई ६६ वटामा सीमित गरिने

Sharing is caring!

कात्तिक २७, २०७५ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुस १ देखि उपत्यकामा  वैज्ञानिक रुट पहिचान गरी सवारी चलाउने तयारी गरेको छ । रुट पहिचानका लागि यातायात व्यवस्था विभागका निर्देशक प्रेम सिंहको संयोजकत्वमा काठमाडौं महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि सदस्य रहेको समिति गठन गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए ।

जथाभावी रुट अनुमति दिँदा सवारी व्यवस्थापन अस्तव्यस्त भएको भन्दै उनले प्रत्येक रुटमा वैज्ञानिक किसिमले सार्वजनिक सवारी सञ्चालन गरिने बताए । ‘सम्भावित यात्रु, सवारी चाप, सडक अवस्थालगायत अध्ययन गरी रुट परमिट दिन्छौं,’ महानिर्देशक ढकालले भने, ‘अब जथाभावी रुट परमिट अन्त्य गर्छौं ।’ यसअघि सडकको क्षमताभन्दा यातायात व्यवसायीको मागअनुसार अध्ययनबिना रुट परमिट दिने गरिएको उल्लेख गर्दै उनले अब सबै सम्भावना सूक्ष्म ढंगले विश्लेषण गरेर मात्र रुट परमिट दिइने बताए । हालका करिब २ सय छोटा–लामा रुटलाई ६६ वटामा सीमित गरिने उनले बताए ।

‘केही दिनभित्रै समितिले अध्ययन प्रतिवेदन बुझाउँछ, त्यसपछि लागू गर्छौं,’ उनले भने, ‘अब अव्यवस्थित रुटलाई व्यवस्थित गरिनेछ ।’

समितिले यात्रुको चाप, सवारी संख्या, सहरी भौगोलिकता, सडकको दूरी, ट्राफिक चापलगायत अध्ययन गरिरहेको उल्लेख गर्दै उनले त्यसका आधारमा रुट परमिट दिइने बताए । उनका अनुसार उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरिनेछ । ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ वटा रुटमा विभाजन गर्न लागिएको उनले बताए । यसअघि विभागले २०६५ मा पनि उपत्यकामा वैज्ञानिक रुटको अध्ययन गरेको थियो ।

तर ती रुटमा विद्युतीय सवारी साधनलाई सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा भएको भन्दै सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । ‘समितिले दिने नयाँ प्रतिवेदन मन्त्रालयले स्वीकृत गर्नेबित्तिकै लागू हुन्छ,’ उनले भने । पछिल्लो समय व्यवसायीले जुनसुकै रुटमा ठूला बस चलाउने अनुमति माग्न थालेको उल्लेख गर्दै महानिर्देशक ढकालले त्यसको व्यवस्थापनका लागि पनि वैज्ञानिक रुट पहिचान गर्नु आवश्यक भएको बताए । ‘रुट परमिटका नाममा जथाभावी अनुमति दिए सवारी चापको अवस्था कस्तो होला ? समयमै नसोचे विकराल समस्या आउँछ ।’

अध्ययनअनुसार ८ वटा प्राथमिक रुट पहिचान गरिएको विभागले जनाएको छ । प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला, सेमिफ्लोर बस पनि चल्न सक्ने ढकालले बताए ।

चक्रपथ र बाह्य चक्रपथलाई रत्नपार्कसँग प्राथमिक रुटले जोडिने विभागको भनाइ छ । ‘जहाँ पायो गाडी रोक्ने प्रवृत्ति निरुत्साहित गर्न प्रत्येक बस स्टेसनको दूरीसमेत निर्धारण गरिनेछ,’ महानिर्देशक ढकालले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउन वैज्ञानिक रुट कायम गर्न लागिएको बताए ।

‘घर स्मार्ट, मान्छे स्मार्ट, अफिस स्मार्ट, सहर स्मार्ट बनाउन खोज्ने, ट्राफिक व्यवस्थापनचाहिँ स्मार्ट नहुने ? ट्राफिक व्यवस्थापन स्मार्ट भएन भने कहीँ पनि स्मार्टपन आउँदैन,’ उनले भने, ‘स्मार्ट ठाउँमा स्मार्ट बन्न समयमा पुग्नुपर्दैन ?’यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *