उत्तर कोरियाली नेता किम चीन जाँदै

Sharing is caring!

असार ५, २०७५ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो ।

सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उहाँ बुधबार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गर्नुभएको थियो । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लाग्नुभएको बताइएको छ ।

उहाँ मङ्गलबार चीन पुग्नुभयो भने गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उहाँ जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुग्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उहाँले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

साथै उहाँले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।

गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो । चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *