उखु कृषकलाई अनुदान बैङ्क खातामै

Sharing is caring!

असोज २६, २०७५ । चिनी उद्योगीहरूले स्टक रहेको चिनी विक्री नभएसम्म उखु किसानलाई भुक्तानी नदिने अडान लिइरहेको बेला किसानले अनुदानको रूपमा प्रतिक्वीण्टल ६५ रुपैयाँ २८ पैसा छिटै पाउने भएका छन् । सरकारले उखु किसानलाई दिँदै आएको भ्याट फिर्ता सुविधा बजेटबाटै हटाएपछि व्यवस्था गरेको ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५’ कार्यान्वयनको चरणमा पुगेपछि किसानले उक्त अनुदान छिटै पाउने भएका हुन् ।

हालसम्म सङ्कलित १२ ओटा चिनी उद्योगमार्फत उखु किसानको खातामा अनुदान पठाउन अर्थ मन्त्रालयले भुक्तानी दिइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निकासा भइसकेको कृषि मन्त्रालयका प्रवक्ता तथा सहसचिव तेजबहादुर सुवेदीले जानकारी दिए । चिनी मिलको विवरण सङ्कलनमा खटिएका कृषि मन्त्रालयका उपसचिव भोजराज सापकोटाले देशभर सञ्चालनमा रहेका महाकाली, भागेश्वर, अन्नपूर्ण, इन्दुशङ्कर, बाग्मती खाँडसारी, लुम्बिनीलगायत १२ ओटा चिनी मिलमार्फत उखु किसानलाई अनुदान दिइने बताए । उनका अनुसार कपिलवस्तुमा सञ्चालित चिनी मिल भने सञ्चालनमा नभएकाले छनोटमा परेन ।

प्रवक्ता सुवेदीका अनुसार २/३ दिनमा कृषि मन्त्रालयले जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा अनुदान रकम पठाइने छ । उक्त रकम सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित भुक्तानी समितिबाट चिनी उद्योगीमार्फत किसानको खातामा जम्मा गरिने व्यवस्था गरिएको छ । यस्तो समिति उखु उत्पादन हुने जिल्लामा मात्र गठन गरिने छ । भुक्तानी समितिले मिलको उत्पादन क्षमता, उत्पादन विवरण र कृषकको विवरण तयार तथा अद्यावधिक गर्नुपर्ने छ । त्यसपछि अद्यावधिक विवरणअनुसार समितिले भुक्तानीका लागि सिफारिश दिने व्यवस्था छ । त्यसका लागि पहिलो चरणमा सातओटा उद्योगहरूमार्फत अनुदान रकम वितरण हुने उनले बताए ।

अनुदान रकम किसानको खातामा सोझै राख्न सहज बनाउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उखु मिलहरूको विवरण सङ्कलन गर्न परिपत्र गरेको थियो । सोहीअनुसार कृषिले असोज ८ गतेसम्म सातओटा चिनी उद्योगबाट र पछि थप पाँचओटा चिनी उद्योगबाट विवरण सङ्कलन गरेर अर्थ मन्त्रालयमा तथ्याङ्क पठाइसकेको प्रवक्ता सुवेदीले बताए । पहिलो चरणमा बुझाइएको विवरणका आधारमा नै शुरूमा अनुदान दिइने उनले स्पष्ट पारे ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले चिनीलगायत अन्य वस्तुमा सरकारले दिँदै आएको भ्याट फिर्ता सुविधा हटाएको हो । चिनीमा दिइएको भ्याट फिर्ता सुविधा किसानको हातमा नपुगेको र उद्योगीले नै दुरुपयोग गरेको गुनासो आएपछि सरकारले सीधै किसानको बैङ्क खातामा पैसा उपलब्ध गराउने गरी कार्यविधि बनाएको हो । कार्यविधिमा उखु उत्पादन हुने प्रत्येक जिल्लामा रहेका भुक्तानी समितिलाई अनुदान रकम हस्तान्तरण गर्ने व्यवस्था गरिएको अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले बताइन् । कार्यविधिमा व्यवस्था भएअनुसारकोे विवरण भुक्तानी समितिलाई १५/१५ दिनमा उपलब्ध गराउनुपर्ने छ ।यो खबर आजको आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *