अर्थमन्त्रीको जवाफ: बजेट समृद्धिको प्रस्थान बिन्दु

Sharing is caring!

जेठ २०, २०७५ । अर्थमन्त्री डा युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५-०७६ को बजेट तयार पारिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख छ ।”

सर्वाङ्गीण विकासमा बजेटले ध्यान दिएको बताउँदै उहाँले नागरिकलाई उत्पादनसँग जोड्न बजेटले पहल गरेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले सामाजिक सुरक्षाका लागि सरकारले जिम्मा लिने बताउनुभयो ।

सरकारले बजेटमार्फत नागरिकको न्यूनतम आवश्यकता पूरा गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने स्पष्ट पार्दै उहाँले बजेट प्रगतिशील बाटोमा अगाडि बढेको बताउनुभयो ।

संघीयता कार्यान्वयन ७६१ वटा सरकारको कुरा गरिरहेका बेलामा राजश्वको बाँडफाँट पनि सोहीअनुसार बजेट प्रस्तुत भएको भन्दै अर्थमन्त्रीले भन्नुभयो, “अनुदानसहितको पहिलो बजेट ल्याएका छौँ । पहिलेका एकल बजेटसँग तुलना गर्नु हुँदैन ।”

उहाँले सबै तहको बजेट जोड्दा रु १५ खर्बको बजेट हुने र विकास खर्च रु पाँच खर्बको भई अनिमात्र मुलुकभरको बजेट हुने बताउँदै विगतको आगामी आवको बजेट अंकमा हेर्दा त्यसले झुक्याउने भएकाले संघीयताको वित्तीय प्रणालीअनुसार बजेटलाई हेर्नुपर्ने बताउनुभयो ।

सरकारले मर्यादित कामलाई सम्मान गर्ने दर्शनसहित बजेट निर्माण गरेको दाबी गर्दै अर्थमन्त्री डा खतिवडाले रोजगारी र श्रमलाई सम्मान गरेर मुलुकभित्रकै स्रोतमा आधारित गरेर बजेट तयार गरिएको बताउनुभयो ।

संघीयता ठूलो भएकाले त्यसलाई गति दिन कर वृद्धि गर्नुपरेको भन्दै उहाँले भन्नुभयो, “संघीयता खर्चिलो छ, त्यसलाई धान्नुपर्छ, सोहीअनुसार बजेट विनियोजन भएको छ ।”

बजेट अली बढी क्रियाशील भएकाले बढी प्रतिक्रिया आएको हो कि भन्ने आफूलाई लागेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “क्रिया र प्रतिक्रियालाई धेरै अगाडि नबढाऔँ, आरोप र प्रत्यारोपलाई यहीँ बन्द गर्नुपर्छ ।”

संविधानको मूल मर्मअनुसार नै आफूले बजेट तयार पारेको दाबी गर्दै अर्थमन्त्रीले भन्नुभयो, “संविधानमा लोकतान्त्रिक मूल्य मान्यताको समाजवाद भनिएको छ, हामी त्यसैमा अगाडि बढेका छौँ, सरकारी, निजी र सहकारीसँग सबैसँग सरकार सहकार्य गरेर अगाडि बढ्छ, राज्यका निर्देशक सिद्धान्तले त्यही भन्छ ।”

बजेट निश्चित मूल्य र मान्यतामा आउने भन्दै उहाँले बजेट असीमित स्रोतको भण्डार होइन, अंकगणित हो, गणितबिनाको बजेट हावादारी हुन्छ भन्नुभयो ।

प्रतिपक्षले बजेट महत्वाकांक्षी एवं यथार्थपरक नभएको टिप्पणीको प्रतिवाद गर्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बजेट ठूलो बनाऊ, राजश्व नउठाउ र विदेशी ऋण पनि नलिऔँ भन्नु गलत हुन्छ । बजेट अंकगणित पनि हो, त्यसको विधि र सीमा हुन्छ ।”

संघ, प्रदेश र स्थानीयले परिपूरक भूमिकामा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले बजेटमार्फत प्रगतिशील कर प्रणाली अपनाएकोप्रति गर्व छ भन्नुभयो । अर्थमन्त्री डा खतिवडाले विदेशी मुलुकमा आयकरमा ५० प्रतिशतभन्दा बढी हुने दृष्टान्त पेश गर्दै भन्नुभयो, “युरोपमा ४० प्रतिशत छन् । त्यहाँका नीजि क्षेत्र पनि काम गरिरहेका छन् । ऋण लिएर मात्र विकास गर्ने होइन, आन्तरिकरुपमै सबल बन्ने हो ।”

करको विषयभन्दा पनि सुशासन राम्रो दिएमा विदेशी लगानी आउने उल्लेख गर्दै उहाँले सरकारले लगानीको वातावरण बनाउने बताउनुभयो ।

चालु वर्षको बजेट पुनःनिर्माणको बजेट, सम्पत्ति सुद्धीकरण, लगानी बोर्डलगायतको बजेट भएकाले प्रधानमन्त्री कार्यालयमा बजेट धेरै देखिएको स्पष्ट पार्दै अर्थमन्त्री डा खतिवडाले एउटै कुरालाई धेरै पटक भन्दा सत्य हुन्छ भन्ने मान्यता नराख्नुहोस् भन्नुभयो ।

संघीय संरचनाअनुसारको बजेट हो भनेर ध्यान दिन सांसदलाई आग्रह गर्दै उहाँले कृषिको बजेट गत वर्षको बजेटमा तुलना गर्नुहुन्न भन्नुभयो । अर्थमन्त्री डा खतिवडाले ठूला विद्युत् र खानेपानी आयोजनाको प्रतिफलस्वरुप आठ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *