अमेरिकाद्वारा इरानमाथि कडा प्रतिबन्धको घोषणा

Sharing is caring!

साउन २३, २०७५ । अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरू लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्डसहितका प्रतिबन्ध लगाइएको हो ।

दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरू तथा कार र गलैंचासमेतका प्रमुख उद्योगहरूको पहुँचसम्बन्धी छन् । इरानीहरूले प्रतिबन्धका प्रभावहरू यसअघि नै अनुभव गरिसकेका छन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेलगत्तै इरानको मुद्रा रियालको मूल्यमा आधा गिरावट आइसकेको छ ।

इरानसँगको आणविक सम्झौताका बारेमा राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निर्वाचनको समयदेखिनै आपत्ति जनाउँदै आएका थिए । यसै वर्षको मे ८ तारिखमा ट्रम्पले आणविक सम्झौतासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । उनले सोमबार पुनः उक्त सम्झौताको विरोध गरेर भने, ‘इरानले आणविक बम बनाउने कुरालाई रोक्ने मुख्य उद्देश्य यो सम्झौताले पूरा गर्दैन, यो भयंकर, एकपक्षीय सम्झौता पूर्णतः विफल भइसक्यो ।’

उक्त सम्झौतामा हस्ताक्षर गर्ने अन्य राष्ट्र बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र युरोपेली यूनियनका नेताहरूले ट्रम्पसमक्ष इरान सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए । उनीहरूले अमेरिकी नेतृत्वलाई इरान मामिलामा एक्लै अघि नबढ्न र बहुराष्ट्रिय सम्झौताप्रति वैमनस्य नराख्न अनुरोध पनि गरेका थिए । उक्त सम्झौताले आणविक हातहतियार निर्माण गर्नबाट इरानलाई रोक्ने विश्वास गरिएको थियो ।

सोमबार कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्धहरूले तेहरानमाथि वित्तीय दबाब सिर्जना गर्ने बताए । उनले भने, ‘यो प्रतिबन्धले इरानी धम्कीमाथि व्यापक र दिगो समाधानका लागि दबाब दिनेछ । साथै, यसबाट क्षेप्यास्त्र निर्माण र क्षेत्रीय हानिकारक गतिविधिहरू रोक्न सहयोग पुग्नेछ ।’

युरोपेली यूनियनका कुटनीतिक प्रमुख फेडेरिका मोघेरिनीले बेलायत, फ्रान्स र जर्मनीसमेत युरोपेली यूनियनमाआबद्ध मुलुकहरूले वासिंटनको यो कदमप्रति खेद व्यक्त गरेको बताए । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युरोपेली आर्थिक संस्थाहरूले इरानसँग वैधानिक व्यापारका कार्यहरूलाई निरन्तरता दिनेछन् र हामी उनीहरूको संरक्षण गर्नेछौं ।’ धेरैवटा युरोपेली फर्महरूले अमेरिकी दण्ड जरिमानाको डरले इरान छाडिरहेका छन् । ट्रम्पले पनि इरानसँग व्यापार व्यवसाय गरिरहने कम्पनी र व्यक्तिले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिबन्धले इरानभित्रै पनि तनावको वातावरण सिर्जना गरेको छ । धेरैवटा शहर बजारमा प्रदर्शन र हडतालहरू भइरहेका छन् । इरानी शहरहरूमा खानेपानीको अभाव, मूल्यवृद्धि हुन थालेको छ, भने राजनीतिक नेतृत्वका विरुद्धमा व्यापक असन्तुष्टी व्यक्त गर्न थालिएको छ । इरानभित्र भइरहेका पछिल्ला घटनाक्रमका बारेमा सामाजिक सञ्जालबाट आइरहेका विवरणहरूको भने स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

ट्रम्पले इरानसँग विस्तृत सम्झौता गर्नेतर्फ आफू खुला रहेको बताएका छन्, उनले भने, ‘यस्तो सम्झौताले ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रम र आतंकवादलाई इरानले गरेको सहयोगजस्ता हानिकारक क्रियाकलापलाई पूर्ण रूपमा रोक्नु पर्दछ ।’

तर इरानी राष्ट्रपति हस्सन रौहानीले अमेरिकी आग्रहलाई बेवास्ता गरेका छन् । रौहानीले राज्यनियन्त्रित टेलिभिजनमा भने, ‘उनीहरू इरानविरुद्ध मनोवैज्ञानिक युद्ध आरम्भ गर्न चाहन्छन् । यी प्रतिबन्धको कुनै अर्थ छैन ।’ रौहानी सरकारले प्रतिबन्धहरू पुनः लाग्नुअघि नै रियालको मूल्य धरासायी हुनबाट बचाउन आपतकालीन उपायहरू अपनाइएको जनाएको छ ।

अमेरिकाको दोस्रो चरणको प्रतिबन्ध नोभेम्बर ५ बाट लागू हुनेछ । यो प्रतिबन्धले इरानको तेल बिक्रीलाई रोक्नेछ, र यसले अझ बढी नोक्सान बनाउनेछ । तर प्रतिबन्धका बाबजूद चीन, भारत र टर्कीसमेतका धेरै मुलुकले इरानबाट पेट्रोलियम खरिदलाई नरोक्ने संकेत दिएका छन् । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफले ट्रम्पको कदमले अमेरिका कुटनीतिक रूपमा एक्लिएको बताए ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *