दैनिक उपभोग्य र स्वास्थ्यसँग जोडिएका सवारीबाहेक उपत्यकामा ‘नो इन्ट्री’

Sharing is caring!

बैशाख २३, २०७७ । अब दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यस अघि पास बनाएपछि निर्वाधरुपमा सवारी साधन भित्रने गरेको थियो भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताएका छन् । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै उपत्यका छिर्न पूर्ण रुपमा रोक लगाएका छन् । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी साधन आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निषेध गरिएको छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका पन्ध्र सय हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै चार सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजारको हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको लकडाउनको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङ नाका मुख्य छ ।

वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको निष्कर्ष रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *