मन्त्री महासेठको ‘मनपरी’: रिपोर्ट लत्याउँदै बिपी राजमार्गमा ठूला गाडीलाई अनुमति

Share this news:

जेठ १७, २०७५ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाउँदै कार्यक्षेत्र भन्दा बाहिर गएर बिपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी सडक खण्डमा ३२ सिट क्षमताका ठूला गाडीलाई रुट इजाजत दिएका छन् ।

मन्त्री महासेठले यातायात व्यवसायीको दबाबमा परेर रुट इजाजत दिनकै लागि विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेको रहस्य पनि यो प्रकरणसँगै खुलेको छ ।

 बीपी राजमार्गमा पनि ठूला गाडी चल्ने

अघि यातायात व्यवसायीले मन्त्रीसँग पनि १६० किलोमिटर लामो यो सडकमा रुट इजाजतका लागि लबिङ गर्दै आएका थिए । तर, महासेठ भन्दा पहिलेका मन्त्रीहरु रमेश लेखक, वीरबहादुर बलायरले भने सडकको अवस्थामा भन्दा बाहिर गएर रुट इजाजत नदिने भन्दै व्यवसायीको माग पुरा गरेका थिएनन् ।

अन्ततः मन्त्री महासेठले यातायात व्यवस्था विभागका प्राविधिक शरद अधिकारी नेतृत्वमा ट्राफिक प्रहरी, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरको टीमले दिएको अध्ययन प्रतिवेदन लत्याउँदै ३२ सिट क्षमताका गाडीलाई रुट इजाजत दिएका हुन् ।

प्राविधिक टिमले दिएको प्रतिवेदनमा भिरालो भू-धरातल र सडकको चौडाई चार मिटर मात्रै भएका कारणले दुई मिटर चौडा भन्दा ठूला सवारी र १० टन भन्दा माथिका मालबाहक सवारी चल्न नमिल्ने प्रतिवेदन दिएको थियो ।

 बीपी राजमार्गको पहिरो जापानीले बनाइदिने

प्रतिवदेनमा यो सडकखण्डको अधिकांश भाग ४ मिटर चौडा तथा धेरै मोड भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट जोगिन ठूला बस र धेरै लोड भएका ट्रकलाई अनुमति दिन नहुने उल्लेख गरिएको थियो ।

चौडा सानो भएपनि काठमाडौंलाई तराईसँग जोड्ने छोटो दूरीको बिपी राजमार्ग धेरै घुम्ती र मोडसँगै उत्तिकै रमणीय पनि छ । यो सडकलाई जापान सरकारको सहयोगमा बनाइएको थियो ।

यो सडक निर्माणको काम कोटेश्वरदेखि सूर्यविनायक सडक निर्माण गरेको जापानको हाज्मा (आन्दो जेभी) कम्पनीले नै गरेको हो । निर्माण हुनेवित्तिकै सडक विभागले यो सडकमा १६ सिट भन्दामाथिका यात्रुबाहक साधन र १० टन भन्दामाथि मालबाहक साधन चलाउन नहुने जनाएको थियो ।

त्यही बेलादेखि नै यातायात व्यवस्था विभागले १६ सिट भन्दामाथि र १० टन भन्दामाथिका सवारीसाधनलाई अनुमति दिएको थिएन । तर, व्यवसायीहरुले त्यही बेलादेखि ठूला गाडी गुडाउन पाउनु पर्ने भन्दै सरकारी अधिकारीलाई दबाब तथा आर्थिक प्रलोभनमा समेत पार्ने प्रयास गरेका थिए ।

 बीपी राजमार्गमा हायसले दैनिक लिन्छन् ज्यान

यो सडक खुलेपछि ठूला गाडीलाई समेत रुट परमिट माग गर्दै व्यवसायी अदालतसम्म पुगे । त्यो बेला २६ सिटसम्मका गाडीलाई अनुमति दिनुपर्ने भन्दै मुद्दा हालिएको थियो । नेपालकै सबैभन्दा महँगो यो सडकमा ठूला गाडी गुडाउने बित्तिकै  मर्मतमा ठूलो लगानी गर्नुपर्ने अवस्था छ । त्यही कारण यो सडकमा १० टनभन्दा माथिका कुनै पनि सवारीसाधन गुड्नै दिन नहुने प्राविधिक प्रतिवेदन पनि सरकारलाई बुझाइएको छ।

खोलाको किनारै किनार र जटिल भीर छिचोल्दै तल्लो साइडमा पर्खाल उठाएर निर्माण गरिएको यो सडकको एक खण्डको केही भाग गत वर्ष खस्दा पुनःनिर्माणमा लामो समय लाग्यो । सबैभन्दा महँगो यो सडक निर्माणमा २६ अर्ब खर्च गरिएको थियो । यो सडक निर्माणका लागि सरकारले प्रतिकिलोमिटर करिब १९ करोड रुपैयाँ खर्च गरेको थियो ।

एकपछि अर्को विवादास्पद निर्णय गर्दै आएका यातायात मन्त्री महासेठले तर, प्राविधिकहरुको प्रतिवेदनलाई समेत लत्याउँदै व्यवसायीको दबाब र प्रलोभनमा परेर १० टन भन्दा माथि र ३२ सिटभन्दा माथिका गाडीलाई गुड्न अनुमति दिएका छन् ।

यो अनुमति दिने क्रममा उनले यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईलाई कारवाहीस्वरुप मन्त्रालय ताने । भट्टराईलाई व्यवसायीसँग नरम नभएको भन्दै महासेठले मन्त्रालय मात्रै तानेन्, त्यहाँबाट श्रम मन्त्रालयमा सरुवा पनि गरे ।

तर उनी श्रममा हाजिर गर्न नपाउँदै सामान्य प्रशासन मन्त्रालयले उनलाई पुनः यातायात मन्त्रालयमै फर्काएर ‘जगेडा’ मा राखेको छ ।  यातायात व्यवस्था विभागका तत्कालीन प्राविधिक शरद अधिकारी नेतृत्वमा ट्राफिक प्रहरी र सडक विभागका इन्जिनियरसहितको समितिले बिपी राजमार्गमा १० टन भन्दा बढीका सवारी गुडाउन नमिल्ने भन्दै दिएको प्रतिवेदनको समेत महासेठले नजरअन्दाज गरेका छन् ।

 बीपी राजमार्गमा दुर्घटना बढ्यो, सचेतना गराउँदै प्रहरी

‘मालबाहक ट्रकलाई प्रतिबन्ध गराउनुपर्छ । सकडमा कडा नियमन गर्नुपर्छ । प्रतिघण्टा ३० किलोटमर गतिमा मात्रै कुद्न पाउने गरी टाइम कार्ड लागू गरिनुपर्छ’, अधिकारी नेतृत्वको समितिले भनेको थियो, ‘तर, सडक निर्माणका लागि आवश्यक निर्माण सामाग्री बोक्न तथा मर्तमतका लागि आवश्यक परेमा सरकारी निकाय वा सडक विभागको सिफारिसमा ट्रक चल्न दिनुपर्छ ।’

यो सडक निर्माणका क्रममा कहीँ पनि पहरा फोरिएका छैनन् । भौतिक संरचनाव पनि बिगारिएको छैन । चट्टानसमेत काटिएको छैन । सडकको तल्लो साइडमा पर्खाल उठाएर बनाइएएको छ । अधिकारी नेतृत्वको टोलीले सडक चार मिटर चौडा मात्रै भएकाले साँघुरो सडकमा २ मिटर चौडा भन्दा फराकिलो गाडी चलाउन नहुने प्रतिवेदन दिएको थियो ।

‘१८ सिट भन्दा बढी क्षमताका गाडीको चौडा दुई मिटर भन्दा फराकिला हुन्छन् । दुई मिटर भन्दा फराकिलो चौडा भएको गाडी चलाउँदा टर्निङ पुग्दैन’, पतिवेदनमा भनिएको थियो, ‘ठूला गाडी छेउबाट टर्निङ गरिँदा भीरबाट लड्ने जोखिम हुन्छ । कुनातर्फ जाँदा अरु गाडीमा ठोक्किनाले दुर्घटना बढी हुन्छ ।’

तत्कालीन अवस्थामा प्राविधिकको टोलीले बिपी राजमार्ग अन्तरगत काठमाडौँबाट धुलिखेल हुँदै नेपालथोकबाट खुर्कोटसम्म सीमित मात्रामा ठूला गाडी गुडाउन सम्भव हुने जनाएको थियो । त्यहाँबाट खुर्कोटदेखि रामेछापको मन्थलीतर्फ जाने र घुर्मी जाने मोडसम्मको सडकमा ठूला सवारी गुडाउन सकिने प्रतिवेदन प्राविधिक समितिले दिएको थियो ।

 बीपी राजमार्गमा घण्टौँ जाम

समितिले सरकारले सडक सुरक्षा नगर्ने हो भने यात्रुको जीवन रक्षाका लागि भए पनि साना र ठूला गाडीलाई एकै चोटी चल्ने गरी रुट इजाजत दिन नहुने पनि प्रतिवेदन दिएको थियो ।

यो राजमार्गको सबैभन्दा जटिल सकडखण्ड खुर्कोटदेखि सिन्धुलीमाढीसम्म रहेको छ । जहाँ धेरै उकालो, मोड र घुम्ती भएकाले ठूला गाडी नियमित चलाएमा दुर्घटना पनि बढ्ने अवस्था छ । यो खण्डमा चार मिटर भन्दा चौडा सडक छैन, जहाँ ट्रक र बस चलाउने बित्तिकै ओभरटेक गर्ने क्रममा तथा घुम्ती र मोडमा धेरै दुर्घटना हुने अवस्था छ ।

अहिले हायस र टाटासुमो धेरै गुड्ने यो सडकमा दैनिक तीन भन्दा धेरै दुर्घटना हुने गरेका छन् । जसले दैनिक कसै न कसैको ज्यान जाने गरेको छ । यही सडकमा ठूला गाडी गुडाएमा दुर्घटनाको संख्या पनि ह्वात्तै बढ्ने अवस्था छ ।

 बीपी राजमार्गको नागबेली सडक

साना गाडी गुडाउँदा पनि अहिले नै धेरै ठाउँको पिच उप्किन थालेको अवस्थामा ठूला गाडी गुड्ने बित्तिकै यो सडक भत्किएर खाल्डोमा परिणत हुने जोखिम रहेको प्राविधिकले बताएका छन् ।

यो सडकबाट सिन्धुलाीमाढी हुँदै लोभलाग्दा घुम्ती र मोड हेर्नैका लागि देशभरीबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तराईबाट नजिकै रहेकाले यो सडक हुँदै कोशी तीरसम्म गर्मी छल्नैका लागि आउने मानिसको संख्या पनि उत्तिकै छ ।

यो राजमार्गको निर्माण २०५२ बाट थालिएको थियो । यसको निर्माणका क्रममा बर्दिबासबाट सिन्धुलीमाढीसम्म पहिलो खण्ड ३७ किलोमिटर बनाइएको हो । त्यसपछि सिन्धुलीमाढीबाट खुर्कोटसम्म साढे ३६ किलोमिटर सडक बनाइयो । त्यसैगरी खुर्कोटदेखि नेपालथोकसम्मको साढे ३६ किलोमिटर सडक बनाइयो । अन्तिममा चौथो खण्डका रुपमा रहेको नेपालथोकदेखि काभ्रेको धुलिखेल ५० किलोमिटर सडक बनाइएको थियो । यो खबर आजको अन्नपुर्ण पोस्टमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *