भोलि देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

hitkhabar.com


काठमाडौं । भोलि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८३ साल वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परे पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन आवश्यक व्यवस्था गर्न भनिएको छ ।

विशेषगरी सरकारी अस्पतालहरूमा बिदाका कारण ओपीडी सेवा प्रभावित हुने अवस्था देखिएपछि मन्त्रालयले १८ गते देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न अस्पताल प्रशासनलाई अनुरोध गरेको हो ।

मन्त्रालयले सेवा प्रवाहलाई सहज र निरन्तर बनाउन तथा बिरामीलाई असुविधा नहोस् भन्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उक्त सूचना जारी गरेका हुन् ।


प्रतिक्रिया