‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करणको रजिष्ट्रेशन खुला

Sharing is caring!

भाद्र २२, २०७७ । साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको हो ।

केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि आफूले गाएको गीत र भिडियो असोज १५ गतेसम्म अनलाइन मार्फत पठाउनु पर्ने छ । पठाइएका गीतहरुमध्येबाट संगीत तथा भाषाविद्हरु डा. कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट १० जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनोट हुनेछन् ।

यस्तै उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ । प्रतियोगिताको विजयी छनोट गर्ने चरणलाई राष्ट्रिय टेलिभिजन मार्फत प्रशारण गरिने संस्थापक निर्देशक मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गर्ने आयोजकले जनाएको छ ।

गायन, नृत्य लगायतका विभिन्न सांगितिक विधाहरुमा प्रशिक्षण गर्दै आएको साधना कला केन्द्रले यसअघि ‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को पहिलो संस्करण सम्पन्न गरिसकेको छ ।

प्रतियोगितामा कसरी सहभागी हुने ?

नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ । साथमा आफ्नो पुरा नाम, ठेगाना, गीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक र गायिका र फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ ।

प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर 001042721P मा पठाउनु पर्नेछ ।

अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु इ-सेवा, प्रभु पे वालेट, ग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्ट्रेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने छ ।

काठमाडौँ उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सक्नेछन् । अन्य थप जानकारी साधना कला केन्द्रको अफिसियल पेज मार्फत लिन सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *