कांग्रेस पदाधिकारीमा ७० वर्षे उमेरहद राख्न सुझाब

Sharing is caring!

मंसिर १९, २०७५ । कांग्रेसमा युवा नेताहरूको आगमन र पाका नेताहरूको सहज बहिर्गमनका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बहस सुरु भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा मस्यौदा विधानमा सुझाब दिँदै युवा नेताहरूले पदाधिकारीलाई जवाफदेही बनाउन उमेरहद र राजीनामाको प्रावधान राख्न माग गरेका छन् ।

केन्द्रीय समितिका अधिकांश नेता पाका भइसकेकाले नेता व्यवस्थापन गर्न निकै चुनौती छ । अहिले केन्द्रीय समितिमा रहेकामध्येबाटै धेरैजना पदाधिकारीमा दोहोरिने भएकाले पनि युवा नेताहरूले उमेरहदको प्रावधान राख्न माग गरेका हुन् । भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद कायम गरिएपछि माउ पार्टीमा पनि उमेरहदको प्रावधान राख्न नेताहरूलाई दबाब परेको छ ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीमा नयाँ नेताहरूको प्रवेश र पाका नेताहरूको सहज बहिर्गमनका लागि कार्यकारी तहमा बस्ने सबैमा ७० वर्षको उमेरहद लगाउन सुझाब दिए । अर्का नेता धनराज गुरुङले पार्टीको जितमा सबैले जस खोज्ने, तर हार्दा कोही पनि जवाफदेही नहुने भन्दै जिते प्रधानमन्त्री र हारे सभापतिले राजीनामा दिनुपर्ने व्यवस्था विधानमा राख्न माग गरे ।

निर्वाचनमा टिकट बाँड्ने संसदीय बोर्डमा सभापतिलाई सबै अधिकार दिएर यस्तो प्रावधान राख्नुपर्ने माग उनको थियो । ‘सभापतिलाई पपुलर र जित्ने मान्छेलाई टिकट दिनुपर्ने बाध्यता हुन्छ,’ गुरुङले बैठकमा भने, ‘जिते प्रधानमन्त्री बनाउने र हारे सभापतिबाटै राजीनामा दिनुपर्ने प्रावधान राख्दा टिकट बाँड्दादेखि नै सभापति जवाफदेही र जिम्मेवार हुन्छन् ।’

मंगलबारको बैठकमा आनन्दप्रसाद ढुंगाना, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा पौडेलले विधानमाथि धारणा राखेका थिए । बैठक बुधबार पनि बस्नेछ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *