विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौँ : राष्ट्रपति पौडेल

Sharing is caring!

पुस १०, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोलाई सम्बोधन गर्दे राष्ट्रपति पौडेलले गाँउमा विकासको उपभोग गर्ने मानिसको अभाव भएको भन्दै नीति निर्माण र साशनसत्तामा बस्नेहरुले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतिकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, उनले भने, ‘यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौ नेपाली युवाहरु ताँती लागेर विदेशीने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ । कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा उनको जोड थियो ।

बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको उनको भनाई छ । राष्ट्रपति पौडेलले आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन हुन पाएकोमा खुसि व्यक्त गरे ।

‘मेरा जीवनको उर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ’, उनले भने ।

उनले सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भईरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *