मुठभेडतर्फ प्रतिनिधि सभा, संसद बैठक सौहार्द हुन सकेन

Sharing is caring!

चैत २७, २०८० । प्रतिनिधि सभाको बैठक सौहार्द बनाउनका लागि सभामुख देवराज घिमिरेले सोमबार संसदमा रहेका प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । तर, नेताहरुका अनुसार उक्त छलफलमा दलहरुले आ–आफ्ना अडान राखेका छन् । मंगलबारको संसद बैठक सौहार्द हुने संकेत गरेका छैनन् ।

यसअघि यही चैत २१ गतेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्को बैठकमा गृहमन्त्रीमाथि छानबिन समिति लिएर आउन सत्तारुढ दलहरुलाई अल्टिमेटम दिएका थिए । तर, कांग्रेसको यस्तो मागमा सत्तारुढ तयार नभएपछि सभामुख घिमिरेले संवादका लागि दलहरुलाई एकै ठाउँमा राखेका हुन । तर, कांग्रेसको अडानले सहमति जुट्न सकेन ।

गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्नैपर्ने प्रमुख विपक्षी कांग्रेसको रटान र त्यसमा सहमत हुन नसक्ने सत्तारुढ दलको अडानले मंगलबार बस्ने प्रतिनिधि सभाको बैठक सौहार्द हुनेमा शंसय पैदा भएको नेताहरु बताउँछन् ।

कांग्रेसले जीबी राई र उनको समूहले काठमाडौं, पोखरा, चितवन, बुटवल लगायतका शहरमा सञ्चालन गरेको सहकारीमा भएको अनियमिततालाई लिएर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

संसद सचिवालयका अनुसार मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयकलाई पेश गर्ने कार्यसूची छ । तर, लामिछानेलाई रोष्ट्रममा जान नदिने कांग्रेसको तयारी छ ।

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म रोष्टममा उक्लिन नदिने रणनीति बनाएको कांग्रेसले अन्यथा सदन चल्न नसक्ने दोहोर्‍याएको छ । तर एमाले, माओवादी र रास्वपाका नेताहरुले भने समिति गठन नगर्ने प्रष्ट जवाफ लिएका छन् । ‘समिति बन्दैन, कोही व्यक्तिलाई फसाउन समिति बन्नु पनि हुँदैन’ शीर्ष बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पत्रकारहरुसित भने ।

बरु संसद बैठकमा गृहमन्त्रीले विधेयक पेश गर्ने र आफूमाथि उठेका प्रश्नहरुको रोष्टमबाट जवाफ दिन लगाउने सत्तारुढ दलहरुको तयारी छ ।

‘जसरी छानबिन समिति बनाउने भन्नु भएको छ, त्यो सम्भव छैन’ चार दलका शीर्ष नेताहरुको बैठकपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘सदन अगाडि बढ्छ, भोलि गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक राख्नुपर्नेछ । त्यही बेलामा गृहमन्त्रीले बोल्नु पर्ने विषयहरु पनि छन् ।’

कांग्रेसले भने आफ्नो माग राख्दै सदन चल्न दिंदा सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । ‘अहिलेसम्म सरकार संसदीय समिति बनाउन तयार नभएकाले संसदको कुनै पनि बैठक अवरुद्ध भयो भने सरकार नै जिम्मेवार हुन्छ ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने । यो खबर मध्यान्ह दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *