तीन महिनामा ३ खर्ब ६६ अर्बको व्यापार घाटा

Sharing is caring!

कात्तिक १३, २०८० । गत साउनदेखि असोज महिनासम्मको अन्तरालमा मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको छ ।

यो गत सालको सोही अवधिको भन्दा २ दशमलव १५ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोडको व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात मात्र ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको भएको छ । गत आवको सोही अवधिमा भने आयात ४ खर्ब ८ अर्बको भएको थियो ।

यसै अवधिमा मुलुकबाट असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको मात्र निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो । गत आवको तुलनामा अहिले आयात बढेको छ भने निर्यात घटेको छ । १ दशमलव ६९ प्रतिशतले आयात बढ्दा निर्यात २ दशमलव २६ प्रतिशतले घटेको छ ।

दसैंको मुखमा विदेशी सामानको उपभोग बढ्ने भएकाले आयात बढेको आँकलन गरिएको छ । भन्सार विभागका अनुसार मुलुकको कुल व्यापारमा आयातको हिस्सा ९० दशमलव ८९ प्रतिशत रहेको छ भने निर्यात व्यापारको हिस्सा ९ दशमलव ११ प्रतिशत रहेको छ ।

तीन महिनामा सबैभन्दा धेरै ७३ अर्ब ५२ करोड ३५ लाख रुपैयाँभन्दा वढीका विभिन्न प्रकारका इन्धनलगायतका पेट्रोल, डिजेल र एलपी ग्यास आयात भएको छ । असोजसम्म करिब ३० अर्बको डिजेल आयात हुँदा १७ अर्बको पेट्रोल र ११ अर्बभन्दा बढीको एलपी ग्याँस आयात भएको छ ।

यस्तै, ७ अर्ब ३५ करोडको सुन आयात भएको भन्सार विभागले जनाएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पु¥याएको छ । साउन र भदौमा जम्मा ४ अर्ब १२ करोड रहेको सुन आयात कोटा बढाएसँगै असोजमा बढेको छ ।

यस्तै, आइरन र स्टिलको आयात ३५ अर्ब ३६ करोडको भएको छ । विद्युतीय मेसिनको आयात २९ अर्ब ७६ करोडको भएको छ । मेसिन र मेकानिकल सामग्रीको आयात २५ अर्ब २६ करोडको भएको तथ्यांक रहेको छ । १९ अर्बका गाडी, प्लास्टिकका सामग्री १५ अर्बका र १४ अर्ब ३२ करोड रुपैयाँको घिउतेल आयात भएको छ । ११ अर्ब रुपैयाँको खाद्यान्न तथा १३ अर्ब रुपैयाँको रासायनिक मल आयात भएको छ ।

यसैगरी, निर्याततर्फ २ खर्ब ९३ अर्ब ५६ करोडको गलैंचा निर्यात भएको छ । १ अर्ब ९५ करोड ५३ लाखको फलामे डन्डी निर्यात भएको छ । यस्तै, १ अर्ब १९ करोड रुपैयाँको चिया, १ अर्ब ८९ करोड रुपैयाँको अलैंची, १ अर्ब १४ करोड रुपैयाँको पाम आयल, १ अर्ब ६० करोड रुपैयाँको ताजा जुसलगायतका वस्तु नेपालले निर्यात गरेको छ ।

विभागका अनुसार डिजेल, पेट्रोल र ग्यासको आयातबाट सरकारले २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, फलामजन्य फेरस धातुका सामग्रीहरूको आयातबाट ५ अर्ब ९८ करोड राजस्व संकलन भएको छ । इलेक्ट्रिक मेसिनबाट भने ५ अर्ब नै राजस्व उठाइएको छ ।

भन्सार विभागका अनुसार तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँबराबरका ६ लाख ४२ हजार ४ सय १५ थान स्मार्टफोन आयात भएको छ । यस अवधिमा ७ अर्ब ३५ करोड मूल्यको सुन आयात भएको विभागको तथ्यांक छ ।

मुलुकले भारतसँग मात्र २ खर्ब २४ अर्ब ३६ करोड १३ लाख रुपैयाँबराबर व्यापार घाटा बेहोरको छ । त्यस्तै, चीनसँगको व्यापारघाटा ७९ अर्ब ८ करोड ८१ लाखबराबर रहेको छ । विभागले साढे ११ अर्ब रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात गरिएको जनाएको छ ।

भन्सार विभागको तथ्यांकनुसार चालू आवको साउन, भदौ र असोजमा ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँबराबरको ग्यास आयात गरिएको हो । यस अवधिमा १३ करोड २५ लाख ७७ हजार ६ सय ८६ किलोग्राम एलपीजी ग्यास आयात गरिएको छ ।

त्यसबापत सरकारले २ अर्ब १६ करोड ९० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी, असोज मसान्तसम्ममा छिमेकी मुलुक भारतबाट ४६ करोड ४३ लाख रुपैयाँबराबरको केरा आयात भएको छ ।

त्यस्तै, तीन महिना (साउन, भदौ र असोज) मा २ हजार १ सयभन्दा बढी विद्युतीय गाडी ल्याइएको छ । ५ अर्ब १७ करोड ७१ लाख मूल्यबराबरका ईभीबाट सरकारले २ अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *