सदनमा गगनको प्रश्न : काठमाडौंमा एक्लै हिड्न पनि नहुने हो ?

Sharing is caring!

भदौ २१, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिन दहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् । थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा उनले बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रुपमा लिएको भन्दै उनले गृहमन्त्रीले काम गर्ने भन्दा सार्वजनिक खपतका लागि भाषणबाजिमै रमाएको आरोप लगाए ।

उनले भने, के अब हामीले काठमाडौंमा एक्लै हिड्न पनि नहुने भएको हो ? कोही जलाइदिन्छु भन्छन् कोहि खुकुरी हान्छन । हामी एक्लै हिड्न हुने होकी नहुने हो ? त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रुपमा गैरजिम्मेवार रुपमा बोल्दै हिड्ने गरेको भन्दै बोल्ने भन्दा काम गरेर देखाउन सुझाए ।

उनले भने, म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिडेको सुनिरहेको छु । यसलाई छाडिने छैन, यस्तो गरिने छैन् । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न हेर्न चाहान्छौ । उनले थपे ‘काठमाडौंमा संविधान सभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा उ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजोको भन्दै त्यसलाई सामान्य रुपमा लिन नहुने बताए ।

‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई बैध वा जायज ठह¥याउने कोसिस गर्दै छौ यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ गगनले भने ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षि रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रुपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *