संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने प्रयास भइरहेको छ : सभापति लामिछाने

Sharing is caring!

कात्तिक ११, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटकपटक सत्तामा बस्दा पनि संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

ललितपुरको मंगलबजारमा आज आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।

सभापति लामिछानेले द्वन्द्वपीडितहरु देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट वेथिति ल्याउनेले अहिले संक्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुंगोमा नपुर्याएको भन्दै प्रश्न गरे ।

लामिछानेले भने, ‘संक्रमकालीन न्यायनिरुपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ । अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ । हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ?’
लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

उनले भने, ‘परिवर्तनको लागि हिजो कैयौं युवाले शरीरमा गोली थापे । कति महिलाको सिउँदो उजाडियो, कयौँ टुहुरा, घरबार विहीन र विस्थापि, वेपत्ता भए । ती सबैले गोलि थापेको, आफन्त गुमाएको सिन्दुर पुछेको, घरबार विहीन भएको आजका नेताहरुलाई क्विन्टलका क्विन्टल सुन ल्याएर तस्करको नाइके भएर घर ठड्याउनको लागि होइन, देश बनाउनको लागि थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *