पार्टी रुपान्तरणमा सुनिल शर्माको जोड

Sharing is caring!

फागुन ५, २०८० । कांग्रेसका प्रतिनिधि सभा सदस्य तथा महासमिति सदस्य सुनिलकुमार शर्माले पार्टीको रुपान्तरण र जनमुखी सरकार निर्माण गर्न स्पष्ट एजेण्डासहितको महासमितिको बैठकमा प्रस्ताव राख्ने बताएका छन् ।

कांग्रेस महासमिति बैठकका सन्दर्भमा पार्टीको रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिकीकरणका लागि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको आधारभूत आवश्यकताका बारेमा महासमितिको बैठकमा छलफल हुनुपर्छ भन्ने आफ्नो प्रस्तावको मूल उद्देश्य रहेको बताए ।

उनले भने, ‘मेरो प्रस्तावका मुख्य एजेण्डाहरु रुपान्तरित कांग्रेस निर्माणका मार्गचित्र, सुशासनमुखी पार्टी र सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्ध, रोजगारीका समस्या समाधान र उद्योग क्षेत्रको विकास, अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनतामुखी सरकार, कांग्रेसले लिनुपर्ने अर्थनीति, विदेश नीति, शिक्षा र स्वास्थ्य क्षेत्रको रुपान्तरण र विकास, कृषि पर्यटन र जलविद्युतको विकासमा प्राथमिकता, खनिज स्रोतको पहिचान र विकासमा जोड लगायत छन् ।’ यस्तै, कांग्रेसले आफ्नो नीतिमा प्रष्ट नराख्ने र सम्मिलित सरकारलाई सुशासन र जनमुखी नबनाउने हो भने आउने दिनहरु कठिन हुने उनले बताए ।

उनले भने, ‘कांग्रेस आफ्नो नीतिमा प्रष्ट हुनु जरुरी छ । नीतिमा प्रष्ट हुनुको साथै आफू सम्मिलित सरकारलाई सुशासन र जनमुखी बनाउनु पर्छ । यस्तो गर्न नसकेन कांग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादी र अतिवादीहरु नेपाली कांग्रेसका मुख्य चुनौती हुन् । कांग्रेसले जनप्रिय, जनताको विश्वासको पार्टी बनाउने र आफू नेतृत्व जनमुखी सरकार बनाउने विषयमा ढिलाइ गर्नु हुँदैन ।’

अप्राकृतिक गठबन्धनका कारण कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइरहेको जनगुनासो रहेको पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *