सरकारमा जाने, नजानेबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

Sharing is caring!

फागुन २३, २०८० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समिकरणमा सामेल हुने-नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ ।

बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ । यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमलेको तीव्र लबिङ गरिरहेका छन् । मंगलबार दुवै पार्टीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर गठबन्धन र सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे । तत्कालिन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो । ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन् नयाँ सत्ता समिकरण बलियो बनाउन हेतु ओली विगतको तिक्तता भुलाएर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवास पुगे ।

मंगलबार साँझ भएको तीन शीर्ष नेताहरुको छलफलमा नेपाल सकारात्मक देखिएको बताइएपनि नेकपा एसले सो बारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *